Sunday, June 1, 2008

भयका बाटाहरू


चित्र नं. ४ चेतना नै भयको प्रमुख मार्ग हो । माथि व्याख्या गरिएझै चेतनापछि सम्बन्धित समस्याको ज्ञान हुन्छ र हामी भयभीत हुन्छौ । चेतनाको वृद्धिसँगै भयको वृद्धि हुन्छ । चेतनाको उद्गम बिन्दूमा अहिलेसम्म मनोविश्लेषकहरू प्रवेश गर्न सकेका छैनन् । मनोविश्लेषक सिकमैण्ड फ्राइडका अनुसार मस्तिष्कमै अवचेतनाको भाग हुन्छ । अवचेतना र चेतनाको बीचमा एउटा पर्दा हुन्छ, पर्दालाई केही संवेदनशील तन्तुहरूले निरन्तर निगरानी गरिराखेका हुन्छन् र चेतनामा प्रवेश गर्न मिल्ने भागलाई चेतनामा प्रवेश गर्ने अनुमति दिन्छन् र अनावश्यक भागलाई अवचेतना मै फर्काइदिन्छन् । चेतनामा प्रवेश गर्ने चेतनाको यहीबाट यात्रा शुरु हुन्छ । चेतनाको शुरूआतसँगै भयसाथैमा प्रवेश गर्दछ । भयको बाटोमा हामी नयाँ अनुमानको विकास गर्न सक्दछौं । किनभने अवचेतनामा कहाँबाट चेतना आएर बस्दछ - यो सधैं मनोविश्लेषकको निमित्त अनुतरित प्रश्न हो । फ्राइडका तर्क केवल अनुमानित तर्क हुन् । त्यस्ता तर्कहरू कालको गतिसँगै विकसित हुँदै आएका छन् । हामी चेतनाको बाटोसँगै भयका बाटोहरू पहिल्याउने प्रयास गर्न सक्छौ । मस्तिष्कमा भौतिक र अभौतिक दुइटा तत्व हुन्छन् । भौतिक भन्नाले गिदीको थुप्रो हो भने गिदीको थुप्रोको संयोजनबाट बन्ने स्मरण, चेतना, कल्पना, सोच अभौतिक तत्व हुन् । शरीरमा भएको मासुको थुप्रोबाट निस्किने आवाज जस्तै हो चेतना । कम्प्युटरको पाटपूजा मिलेपछि कम्प्युटरले काम गर्न थालेको जस्तै हो । मनोविश्लेषकहरू अवचेतनाबाट पर्दा हटाएर चेतनामा प्रवेश गरेको कुराहरू स्वीकार्छन् । अवचेतना के हो - यसका कति श्रृंखला छन् । अवचेतनामा चेतना कसरी प्रवेश गर्छ भन्ने सवालहरूमा उनीहरू मौन छन् । यस ब्रहृमाण्डका उत्पादन जैविक र अजैविक वस्तुहरू अन्य ब्रहृमाण्डबाट आएका अवश्य होइनन् र यस ब्रहृमाण्डका अवशेषहरू अन्य ब्रहृमाण्डमा पनि जाँदैनन् । चेतनाका कुराहरू पनि सपनाका कुराहरू जस्तै वा ब्रहृमाण्डमा पुर्खाहरूको आवाज सुरक्षित छ भनेर वैज्ञानिकहरूले पुष्टि गरे जस्तै चेतना, मन, संवेदना, कल्पना, सोच सबैले यही ब्रहृमाण्डमा कहीं कतै आधार बनाएर बसेको हुन्छ । भ्रुमको विकाससँगै यसले भ्रुममा आधार लिएर विकसित हुन थाल्दछन् । मानव मस्तिष्क भित्र ती अवचेतनाका टुक्राहरू चेतनशील प्राणीको मस्तिष्कको विकाससँगै चेतनामा प्रवेश गर्छ र मस्तिष्कको एउटा कुनामा बसेर मस्तिष्कसँग हुर्किन्दै जान्छ । अवचेतनाबाट चेतनामा पुग्ने दूरी धेरै लामो हुन्छ र लामो समय लाग्छ । मस्तिष्कको विकास क्रममा हामीले छिटो देखेका मात्र हौं, सुक्ष्मताको हिसाब लगाउने हो भने अति लामो समयको दूरी पार गरेको हुन्छ । चेतनाको दुइ बाटाहरू छन्-एउटा चेतना चक्रको बाटो, अर्को भौतिक वस्तुको संरचनाले दिने चेतना । भौतिक वस्तुको संरचनाले दिने चेतना भनेको हाम्रो शरीर बन्नलाई विभिन्न लवणहरूको संमिश्रण भएको हुन्छ । लवणहरूको संमिश्रणबाट त्यसले गर्ने क्रिया विभिन्न हुन्छ । जस्तै कम्प्यूटरको पार्टपुर्जा मिलेर कम्प्युटरको काम गर्दछ, रेडियो, टि.भी., लगायतको मेशिनरी सामानहरूले पार्टपुर्जा जोडेर बनाएपछि अर्कै काम गर्दछ । ऋणात्मक र धनात्मक बिजुलीको तार जोडेर बिजुली बल्दछ । त्यस्तै हाम्रो शरीरको सबै भागमा विभिन्न माँसपेसी, तन्तु, कोषहरू रहेका छन् । त्यसले गर्ने क्रिया विभिन्न हुन्छ । त्यसै मध्येको सुपर काम चेतना पनि हो । मान्छेमा चेतना आउनलाई शरीरका अंगहरूको उतिकै महत्वपूर्ण भूमिका हुन्छ । यो मार्गबाट चेतना आएपछि भय पनि उत्पन्न हुन थाल्छ । यो क्रिया एक कोषिय जीवदेखि बहुकोषिय जीव सबैमा हुन्छ । चित्र नं. ४ मा चेतना अथवा घटनाको संभावना, मृत्यु अथवा घटना, यौद्धिक र भय मण्डल देखाइएको छ । चेतनशील प्राणीको गर्भ अवस्थामा नै चेतनाको विकास हुन थाल्छ । त्यस्तै जीवजन्तु, वनस्पतिमा पनि चेतनाको केही न केही अंश रहन्छ मात्रा मात्र फरक हो । चेतनाको प्रवेशसँगै अथवा जन्मसँगै मृत्यु हुने घटनाको संभावना हुन्छ र एक ठाउँमा गएर मृत्यु हुन्छ वा घटना घट्दछ । जन्म र मृत्युको बीचको दूरी वा घटनाको संभावनादेखि घटनासम्मको दूरीमा चारैतिर भय मण्डल घुमिरहेको हुन्छ । घटनाको संभावनादेखि घटनासम्म यात्राले आन्तरिक र बाहृय वस्तुहरूसँग निरन्तर युद्ध गरिरहेको हुन्छ । युद्ध वा संघर्षबिना केही पनि संभव छैन । जैविक वा अजैविक वस्तुको गति संघर्षले निर्धारण गरेको हुन्छ । सामान्यतया सञ्चार हुनलाई पनि आधार चाहिन्छ । एउटा मान्छेले बोलेको कुरा अर्को मान्छेसम्म आइपुग्न आधार चाहिन्छ । वायुको आधारभन्दा ठोस आधार अझ स्पष्ट र राम्रो हुन्छ । मान्छेले सुनेको कुराको असर वा प्रतिक्रिया हुन शरीरभित्रै पनि आधारको माध्यमबाट चेतनामा पुग्छ र त्यसको असर बन्न थाल्छ । कुनै मान्छेले अर्को मान्छेलाई रिस उठायो भने यही प्रक्रियाबाट हुन्छ । कुनै पनि आधारबिना मान्छेको मस्तिष्कमा अवचेतनाका टुक्राहरू जम्मा हुन संभव छैन । अवचेतनाका टुक्राहरू चेतनामा प्रवेश नभइन्जेल जीवन मात्र निर्जीव वस्तु हुन जान्छ । चेतना निश्चय पनि अवचेतनाको विकसित रूप हो । त्यसैले भन्न सक्छौ अवचेतनामा चेतना चेतना चक्रबाट प्रवेश गरेको हुन्छ । चेतनाले जहिलेपनि प्रकाशजस्तै धरातल टेकेर यात्रा गर्दछ । धरातल र चेतना बीचमा संघर्ष हुन्छ संघर्ष वा घर्षणबिना गति असंभव छ । यो क्रमको बारम्बार पुनरावृत्ति भइरहन्छ । निम्नानुसार यसलाई अझ प्रष्ट पार्न सकिन्छ ।
क. चेतना
ख.चेतनाचक्र
ग.यौद्धिक
घ. धरातल
ङ.पुनरावृत्ति

No comments: