Monday, May 19, 2008

भय र भयवाद

भय भन्नाले डर भन्ने बुझिन्छ । भय अनेकौ प्रकारको हुन्छ । मान्छेको चेतना, सहनशीलता अनुसार भय तलमाथि हुन्छ । कुनै एउटै विषयमा कसैलाई बढी र कसैलाई कम भय हुने गर्दछ । जीवन र मृत्युको बारेमा पनि कसैलाई बढी र कसैलाई कम भय हुने गर्दछ । यसलाई हानीनोक्सानीको पर्यायवाची पनि मान्न सकिन्छ । मान्छे अज्ञात भयको सदा शिकार भैरहन्छ र ऊ यस भयबाट निस्किने उपायहरू खोजिरहन्छ । हानीनोक्सानी हुने संभावना र घटनाको बीचको समयमा व्यतित भैरहने परिस्थिति नै भय हो । घटना घटिसकेपछि एउटा भय र्टछ र अर्को भयको सिलसिला शुरु हुन्छ । भय श्रृङखला बद्ध हुन्छ । जन्म हुने बित्तिकै मृत्युको संभावना हुन्छ र मृत्युसँगै समाप्त हुन्छ । त्यसैले भयको आयु भनेको जन्म र मृत्यु बीचको दूरी हो । पृथ्वीको गुरुत्वाकर्षाले वस्तुहरूलाई आफूतिर खिचे जस्तै भयको शक्तिले जीवनका सबै पक्षलाई खिचेको हुन्छ । भयको रूप र आयु जान्दाजान्दै मान्छेले सधैं भय पालेर, हुर्काउँदै हिँडिरहन्छ । तर मान्छेलाई थाहा हुँदैन वा प्रत्यक्ष रूपमा मान्छे भयसित परिचित हुन चाहान्दैन । उसका गतिविधि, व्यवहार भयमा लुकाएर हिँडिरहेको हुन्छ । उदाहरणको लागि बिहानदेखि साँझसम्म काम, व्यवशाय, सामाजिक, राजनैतिक लगायतका जति पनि क्रियाकलाप हुन्छ । त्यसको प्रत्यक्ष कसैले स्वीकार नगरेपनि अप्रत्यक्ष भूमिका भयको हुन्छ नै । भय जीवनमा प्रत्येक पल आइरहन्छ । यसलाई प्रष्टसँग देखिन्दैन, तर यो जहीँतहीँ हुन्छ र यसैबाट निर्देशित भएर चेतनशील प्राणी सञ्चालन भैराखेको हुन्छ । वनस्पति र जीवजन्तु पनि यसबाट अलग छैनन् । एक कोषिय जीव पनि यसबाट अलग छैनन् । गुलाबको फूलमा उम्रेको काँडाले फूललाई बाहिरी आक्रमणबाट बचाउँछ, छेपारोले आप\mनो नजिक कुनै खतरा हिँडेको देख्यो भने ठाउँ अनुसार रंग बदलेर आफूलाई लुकाउँछ । भ्यागुताले आफूलाई कसैले आक्रमण गर्ने थाहा पायो भने शरीरभरि एक प्रकारको विष छरेर आफूलाई सुरक्षित राख्ने प्रयास गर्छ । पशुपन्छीहरू कसैले आक्रमण गर्छ कि भनेर सधैं चनाखो भैरहन्छन् । प्रकृतिले दिएको सुरक्षित कवज हो यो । चेतनशील प्राणीहरूमा चेतना र ज्ञानको मात्रा अनुसार भय निर्भर गर्दछ ।
मानवीय जीवन प्रत्येक पाइलाहरूमा भयबाट ग्रसित भएको हुन्छ । आय आर्जन गर्नु, सामाजिक हुनु, सन्तान उत्पादन गर्नु, राष्ट्रियता, जातियताको कुरा गर्नु । सबै अप्रत्यक्ष रूपमा भयका निर्देशन हुन् । हामी जीवनभरि काम गरिरहन्छौं , आय आर्जन गछौर्ं र जीवनको आनन्द समर्पित गरिदिन्छौ अनि यन्त्र मानवमा परिणत हुन्छौं । किनभने हामीलाई काम गरिएन भने खान पाइन्दैन, लाउन पाइन्दैन, सबैले छिः छिः दूर दूर गर्छन्, सन्तानले दुःख पाउँछ वा भविष्यमा दुःख पाइन्छ भन्ने भय लाग्दछ । यी सोचहरूले नलखेट्ने हो भने हामी भयरहित हुन्छौ र स्वादिलो हुन्छ जीवन । जीवनका सबै स्वादहरू भयले तीतो बनाइदिएको छ । हामी धर्म गर्र्छौ, सुख पाउन भनेर तर सुख हुँदैन त्यहाँ, त्यहाँ त भयबाट मुक्त हुने प्रयास भएको हुन्छ । हामी त्यो साँच्चैलाई देख्दैनौं । जीवनका सानोभन्दा सानो कुरासँग भय गाँसिएको हुन्छ । भयबाट अलिकति निस्केर जीवनले कोल्टे फेर्ने बित्तिकै जीवनमा नयाँ प्रकट देखिन थाल्छ । मान्छेले भयलाई न्युनतम स्तरमा झार्न सके खोरबाट छोडेको पन्छी जस्तै स्वतन्त्र भएर माथिमाथिसम्म कावा खाँदै उडने छ । उमेर ढल्किन्दै जाँदा वा बिरामी भएर मृत्युलाई ढुक्दा पनि मुटु धडकिरहने छैन । सिद्धान्त, दर्शन, धर्मको अवतरण छ जीवनमा । जीवनलाई पृथक राखेर सिद्धान्त, दर्शन र धर्म हुँदै सक्दैन । जीवन र मृत्यु बीचको भाग, गुण, जोड, घटाउ नै सिद्धान्त, दर्शन, धर्म हो । यस हिसाब भित्र भयको हिसाब राखिएन भने जीवनको हिसाब मिलान हुँदैन । कुनै घटना, समस्या, भूल, रोग थाहा पाइएन, शंका, भ्रम भएन भने मान्छेलाई भय हुँदैन । हामी जन्मिन्छौ, हुर्किन्छौ, याने हामीलाई जीवन थाहा हुन्छ र मृत्यु थाहा हुन्छ । यो सँगै भय हुन थाल्छ र त्यस भयबाट बच्ने उपायहरू खोज्न थाल्छौं । उदाहरणको लागि कुनै मान्छेले काममा, जीवनमा, गल्ती गर्‍यो तर गल्ती गर्ने मान्छेलाई थाहा भएन भने उसलाई कुनै भय पैदा हुँदैन । तर जब उसलाई कसैले थाहा दिन्छ उसले गल्ती गरेको । त्यसपछि उसलाई भय पैदा हुन थाल्छन् । कसैले गाली गर्ने हुन कि, सजाय दिने हुन कि पुलिसले समाएर थुन्ने हुन कि जस्ता अनेकौ भय ऊभित्र खेल्न थाल्छ र त्यसबाट मुक्ति पाउन अनेकौ उपायहरूको विकास गर्छ । घटना घटेको थाहा पाउनु र सजाय नभइन्जेल उसको मस्तिष्कमा खेलिरहने त्यस सम्बन्धी कुराहरू भय हुन् । त्यस्तै कुनै मान्छेलाई पहिलादेखि नै संक्रमक रोग लागेको छ । तर उसलाई थाहा भएको छैन भने ऊ निरोगी जस्तै हिँडडुल गर्छ, खान्छ, पिउँछ । कुनै डाक्टरले उसलाई रोगको बारेमा बताएपछि उसमा अनेकौ भयहरू पैदा हुन थाल्छन् । त्यसैले थाहा नभएको अवस्था नै एक किसिमको भयवादको अवस्था हो । घटना, समस्या, भूल, जीवन, मृत्यु, आफन्त, रोग, भोक, सम्पत्ति, इज्जत, अनुशासन, कानुन, नियम सबै थाहा नभएको अवस्थामा मान्छेलाई भय हुँदैन ।
भयको रूप सधै एकै नासको हुँदैन । कुनै बेला वर्षा, आँधीहुरी, चट्टान, घाम, जनावर भय हुन्थ्यो भने सभ्यताको विकाससँगै नयाँ समस्याहरू देखापर्दै गए । ती समस्याहरू जब मान्छेलाई थाहा हुँदै गयो, तब नयाँ भय हुन थाल्यो । हिजो एडस, र्सार्स, बर्ड फ्लु, आणविक हतियारको भय थिएन । मान्छेले ती वस्तुहरूको आविष्कार गरे र थाहा पाए । तब उनीहरूलाई त्यसको झन् भयानक भय हुन थाल्यो । आणविक हतियारको आविष्कारसँगै विज्ञापन भयो र यसको शक्ति सम्झेर मान्छे डराउन थाले ।
समस्या, दुःख, कष्ट, शंका, रोग, मृत्यु सबै भयका स्रोतहरू छन् । ती सबैलाई सुक्ष्म ढंगबाट अध्ययन गर्दै जाँदा त्यहाँ सुरुङ बन्दै जान्छ । त्यहाँ मात्र होइन कुनै वस्तु, शब्दको उत्खनन गर्दै जाँदा त्यहाँ ठूलाठूला सुरुङ भेटिन्छन् । सुरुङमा हामी जतिजति भित्र पस्दै जान्छौ, उतिउति खजाना भेट्दै जान्छौ । त्यसलाई सूक्ष्म सुक्ष्म खण्डमा खण्डित गर्दै अध्ययन, अनुसन्धान गर्दा त्यहाँ कतिमा अधिक भय र कतिमा न्युन भय भेटिन्छ । धेरैथोरै भय सबैमा हुन्छ । यो भय माथि भनिएझैँ चेतना, ज्ञान र सहनशीलताको मात्रामा निर्भर गर्दछ । कसैले एउटै भयलाई बढी बुझिदिन्छ र कसैले थोरै । कसैले कम भय महसुस गरिरहेको विषयमा अरुलाई त्यसरी नै बुझिदिन उचित हुँदैन । फेरि कसैलाई बढी भय लागेको विषयमा अरुलाई नहुनु पनि सक्छ । भयका स्रोतहरूमा हामी कति भित्र पसेका छौ र कति सम्म पस्नु पर्ने हो भन्ने अन्तिम मापदण्ड छैन । यसमा पनि चेतना, ज्ञानमा निर्भर गर्दछ । यी सुरुङहरू यति विशाल छन् कि यसको अन्तिम गहिराइ भेट्न सकिन्न ।
मान्छेले मान्छेलाई चेतावनी दिएर, तसर्थ मान्छेको मस्तिष्कमा एक किसिमको भय पैदा गरिदिएको हामीले देखिरहेका छौँ । पैसाको लेनदेन, शत्रुता कसैलाई सताउने उद्देश्यले यस्तो कार्य गर्ने गरिन्छ । ऋण खाएको मान्छे वा कुनै किसिमको सामाजिक, कानुनी गल्ति गर्ने मान्छे जहिलेपनि एक किसिमको भयबाट लखेटिएको हुन्छ । कुनै मान्छे देख्दा पनि ऊ आफूलाई समाउन आएको ठान्न थाल्छ । घरमा कसैले ढोका ढकढकायो, फोनको घण्टी बज्यो, बाटोमा कसैले कोट्याएर बोलायो भनेपनि तर्सिन्छ । किनभने यसमा उसलाई एक किसिमको मानसिक भय लागिरहेको हुन्छ । यस्ता किसिमले मानसिक यातना दिइएका मान्छेहरू मानसिक असन्तुलनको कारण वा भयको कारण पागल हुने, पक्षघात हुने र मर्ने हुन सक्दछ । मान्छेको मानसिकतामा आक्रमण गरेपछि त्यसको असर शरीरको कुनै भागमा पनि पर्दछ । यस्तो किसिमको भय मान्छेलाई लामो समयको लागि पनि हुन सक्दछ । छोटो समयको लागि पनि हुन सक्दछ । यस्तो प्रकारको भयले सम्बन्धित मान्छेलाई मात्र खेदो गर्दैन । उसको परिवारलाई पनि खेदो गर्दछ । भयको शिकार भएको मान्छेको क्षमता अनुसार भय उतारचढाव हुन सक्दछ । यस्तो भयले पीडित भएका मान्छेहरू हाम्रो समाजमा थुप्रै छन् । ती मान्छेहरूले भयले लखेटेको वा खेलाएको भनेर बोध गरेको हुँदैनन् । उनीहरू भागिरहेका हुन्छन् । ती मान्छेहरूले भयवादलाई बुझेमा केही राहत हुन सक्दछ ।
मान्छेहरू चोर, डाँका, हत्यारा, लुटेरासँग डराइरहेका हुन्छन् भने चोर, डाँका, हत्यारा, लुटेरा, अपराधी मान्छेहरूसित डराइरहेका हुन्छन् । हाम्रो समाजमा खुलेर अपराध गर्ने र लुकेर अपराध गर्ने मान्छेहरू प्रशस्तै छन् । यसले समाजमा भय पैदा गरिरहेको हुन्छ । अपराध, भूतप्रेत, रुढिवादी, अन्धविस्वास, शंका, रोग, समस्या, भ्रम, युद्ध आदिइत्यादि हेर्दै, खोज्दै जाने हो भने समाजमा भयमय मात्र देखिन्छ । भयको यो ठूलो मण्डलले मान्छे, समाज, देश र विश्वलाई गाँजेको छ ।
अन्जानमा गरिएको कतिपय क्रियाकलाप भयमा नआउन सक्छ । तर जानेर, बुझेर गरिने क्रियाकलाप सबै भयमा पर्दछ । उदाहरणको लागि अन्जानमा मान्छेको हत्या भयो, हत्या हुन अगाडिको क्रिया भयमा पर्दैन तर हत्याभएपछिको क्रिया भयमा पर्दछ । यस्ता धेरै क्रियाकलाप हुन्छन् । जो अन्जानमा वा चेतना शून्यको अवस्थामा गरिन्छ । अन्जानमा गरिएका यस्ता भूल माफी हुँदै आएका छन् । अन्जानमा कसैको हातबाट हत्या हुन गएको छ भनेपनि माफी हुनुपर्दछ । तर अन्जानमा भएको भन्ने पूर्ण पुष्टि हुन आवश्यक छ । शंका हुनु, भ्रम हुनु, झुक्किनु फरक फरक कुरा हुन् । यी सबै एउटा एउटा वाद हुन सक्दछ । यिनीहरूसँग पनि जीवन छ मात्र फरक यति हो यिनीहरू भय परास्त छन् ।

No comments: