Sunday, June 1, 2008

यौद्धिकः


चित्र नं. ७ मा चेतनादेखि मृत्युसम्मको यात्रा छ । यस यात्रामा चेतनाले आधार टेकेर हिँडेको छ । यहाँ चेतना र आधार बीच संघर्ष हुन्छ जहाँ संघर्ष हुन्छ त्यहाँ भयको उपस्थिति अनिवार्य हुन्छ । भय आफै उत्पन्न हुने मूल स्रोत होइन, भय उत्पन्न हुनलाई कुनै समस्यासित मुटभेट गर्नुपर्छ । मृत्यु, बिरामी, दुःखी नहुने भए भयभीत हुनु पर्ने कारण नै थिएन । शाश्वत रूपमा हुने मृत्यु, बिरामी, दुःखीको कारणबाट मान्छेलाई भय उत्पन्न हुन्छ । यसबाट बच्न मान्छेले अनेकौं उपायहरूको अवलम्बन गर्दछ । त्यस मध्ये अधिकाँश मान्छेहरू आध्यात्मिक हुन्छन् र इश्वरको आराधनामा जुट्छन् । इश्वरको आराधना गर्दा शान्ति प्राप्त भएको विस्वास गर्छन् भने अर्कोतिर मृत्यु उपरान्त र्स्वर्गमा पुग्ने विस्वास गर्छन् । वास्तवमा इश्वरको भक्तिले मान्छेलाई भयरहित बनाउँदैन झन् भयभीत बनाउँछ । भयलाई इश्वरमा हालेर मान्छे लुक्ने प्रयास गर्छन् । उनीहरूको भक्ति र आराध्यको मूल कारण भय हो । राजनीति, धार्मिक, साँस्कृतिक सैद्धान्तिक युद्धहरूले विश्वको शान्ति खल्बलाएको छ । म र मेरो हाबी भएका विषयहरूमा म र मेरोको बचाऊको निमित्त लडाइ, झैझगडा हुने गर्दछ । म र मेरो भन्नु नै लोप हुन्छ वा कसैले लोप गरिदिन्छ भन्ने सन्त्रास हुनु हो । यस्तो सन्त्रास नरहने भए विश्वको रूप नै बेग्लै हुन्थ्यो । भय हुनको निमित्त भय हुने समस्याबारे ज्ञान हुन आवश्यक छ र त्यही समस्यासित मुक्त हुन भय उत्पन्न हुन्छ ।
जहाँ वस्तुहरू एक अर्कामा निर्भर हुन्छन्, एकले अर्कोको माध्यमबाट अगाडि बढ्ने कुरा आउँछ वा कुनै वस्तु चल्छ वा अड्छ ती सबै वस्तुमा घर्षण हुन्छ नै । घर्षणबिना केही पनि अड्न चल्न सक्दैन । चेतनशील मान्छेले कुनै एउटा वस्तुमा आधार नलिई केही पनि सोच्न सक्दैन । ती प्रत्येक सोचाइ, गराइको पछाडि कहीँ न कहीँ भय उपस्थित भएको हुन्छ नै । मान्छेलाई भय ज्ञात भएपछि त्यसको न्युनिकरण गर्न सजिलो पर्छ । साहित्य, कला, संगीत सबैतिरबाट भयलाई न्युनिकरण गर्न सकिन्छ ।

No comments: