Sunday, June 1, 2008

द्वन्दात्मक अभौतिकवादः


चित्र नं. ८ मा विचारले धरातल टेकेर हिँडिरहेको देखाइएको छ । यात्राको दौरान विचार ठाउँ ठाउँमा टुक्रिन्दै जाने गर्दछ र एउटा टुक्रा विचारबाट धेरै टुक्रा विचारको जन्म हुने गर्दछ । चित्रमा हिडिरहेको विचार टुक्रिन्छ र त्यो टुक्रिएको विचार बारम्बार टुक्रिरहन्छ र त्यहाँबाट नयाँनयाँ विचारहरू पैदा भइरहन्छन् । जस्तै केही अगाडि सोचेको कुरा केही पछाडि अर्कै रूपमा टुक्रिसकेको हुन्छ ।
सूर्यको किरण पृथ्वीसम्म आइपुग्न विभिन्न माध्यम पार गर्छ । माध्यमबिना किरण पृथ्वीसम्म आइपुग्न संभव नै हुँदैन । त्यस्तै मन, विचार, दर्शन, चेतना सबै माध्यमबिना एक छेउबाट अर्को छेउसम्म पुग्न सक्दैन, यहाँसम्म कि आवाज एक ठाउँबाट अर्को ठाउँमा पुग्नलाई पनि माध्यम चाहिन्छ । मार्क्सवादले भौतिक वस्तुहरूमा हुने द्वन्दलाई चित्रण गरेको छ । तर द्वन्द प्रत्येक अभौतिक वस्तुहरूबाट प्रारम्भ हुने गर्दछ । यो द्वन्द आन्तरिक हुन्छ पछि बाहिरी । खुल्ला आकाशमा छरिएका अवचेतनाका टुक्राहरू खुला आकाशसित घस्रिरहेका हुन्छन्, अवचेतना चेतनामा प्रवेश गर्दा पनि घर्षण हुन्छ । जब चेतनाले विचार पकडेर हिँड्न थाल्छ, विचारले धरातलसित घर्षण गरिरहेको हुन्छ ।
मानव मस्तिष्कको विकाससँगै अवचेतनाका टुक्राहरू पनि विकसित हुँदै जान्छन् । ती टुक्राहरू वयस्क भएपछि चेतनामा प्रवेश गर्छन् । अवचेतनाका टुक्राहरू चेतनामा प्रवेश गर्दा पनि घर्षण भएको हुन्छ नै । यी चेतनाको एउटा बाटो भौतिकको हुन्छ अर्को बाटो आध्यात्मिकको हुन्छ । भौतिकको बाटो जाने चेतना र अध्यात्मको बाटोबाट जाने चेतना दुवैले संघर्ष गर्दै नयाँ प्रकट गरिरहेका हुन्छन् । यसलाई बडो सुक्ष्म तरीकाले अध्ययन गर्नुपर्ने हुन्छ । यहाँ खुलाउन खोजेको यति मात्र हो कि द्वन्द भौतिक वस्तुमा मात्र हुदैन अभौतिक वस्तुमा पनि हुन्छ । चेतनाको यात्रा द्वन्दात्मक हुन्छ । द्वन्दको प्रत्येक अंशमा भय जीवितै बाँचिरहेको हुन्छ ।

No comments: