Sunday, June 1, 2008

धरातल


चित्र नं. ९ मा भयको एउटा गमला छ । यस गमलामा विज्ञान, दर्शन र अध्यात्म सबै फूल फुलेका छन् । सरसर्ती हेर्दा विज्ञान भयको गमलामा फुलेको होइन कि जस्तो लाग्छ । तर विज्ञान पनि भयको गमलामा नै फुलेको फूल हो । किनभने विज्ञानका प्रत्येक आविष्कार र चिकित्सा विज्ञान सबै मानवीय जीवनलाई कसरी सुलभ बनाउन सकिन्छ भन्ने सिद्धान्तमा केन्द्रित छन् । जीवन र चेतनासँग सम्बन्धित भएर आउने सबै कर्म भयभन्दा पृथक हुन सक्दैन । चिकित्सा विज्ञान, आणविक आविष्कार मात्र भयमा सम्बन्धित नभएर सवारी साधनदेखि सम्पूर्ण आविष्कार मान्छेको दैनिक जीवन सापेक्ष हुन्छन् । मान्छेलाई सुविधा दिन, सुलभ बनाउन नचाहिने हो भने त्यसको उपयोगिता कसको लागि - त्यस्तै पूर्वीय र पश्चिमेली सबै दार्शनिकहरूले आफ्नो अध्ययन र दर्शनको केन्द्रिय विषय वस्तु मानवीय जीवनलाई नै बनाएका छन् । मान्छेको जीवनलाई चाहिने, नीति, अनुशासन, ध्यान, व्यवहार, आचरणलाई प्रयोग गर्ने विधि, घरायसी सञ्चालन गर्ने प्रविधि, तौरतरीकाको रूपमा उनीहरूको दर्शन आएका छन् । सुकरात, प्लेटो, अरिस्टोटल, कन्फुसियस, बुद्ध, गुरु नानक, निचे, मार्क्सदेखि सात्रे सबैको दर्शनले जीवन सञ्चालनको विधिलाई नै विभिन्न रूपबाट व्यक्त गरेका छन् । आध्यात्मिकहरूले संभव त भयको कारणले आस्तिक भएको भन्ने कुरालाई त्यति सजिलै स्वीकार नगर्लान् । उनीहरू आस्तिक हुनुको मूलकारण सुख, शान्ति र समृद्धि नै बताउँलान् । सुख, शान्ति र समृद्धिको साथै मृत्युपछि र्स्वर्ग जान पाउँ भन्ने लालच पनि होला । तर सबै आस्थाको केन्द्र भय नै हो चाहे त्यो कसैले सजिलै स्वीकार गरोस या विरोध ।
पृथ्वीको धरातलमा विभिन्न अनुहारहरू छन् । हावा, पानी, जीवजन्तु, पशुपन्छी, ताप, प्रकाश लगायत प्रकृतिका अनुपम वस्तुहरू छन् । हावाले पृथ्वीको धरातल टेकेको भनेर धेरै कमले मात्र सोच्छन् । त्यस्तै बुझेर वा नबुझेर विज्ञान, दर्शन, अध्यात्म सबैले भयको धरातल टेकेका छन् । त्यसैले अध्यात्म, दर्शन र विज्ञान अनुहार हुन भने भय धरातल हो । हामी यसलाई अनुहार र सतह ( Face and Surface ) पनि भनेर बुझन सक्छौं । जीवनमा भय निरपेक्ष छ । जीवन र जगत भयको सापेक्षतामा मात्र र्सार्थक हुन्छ । माथिको व्याख्यामा पनि जगत जीवनसित सापेक्षित भएको छ र जीवन भयसित । यहाँ अर्को पनि प्रश्न उठन सक्छ जीवन र भय त एउटै हुन् । यो कुरा ठीकै हो तर जीवन कसरी र कता जानु पर्छ भनेर त्यसको लगाम भयसित हुन्छ । भयले डो-याएको बाटोमा मात्र जीवन हिँड्दछ । भयले देखाएको बाटोभन्दा स्वतन्त्र भएर हिँड्न सक्दैन । त्यसैले भय वाद भएर सिद्धान्तमा आएको छ । यसलाई मान्छेको समस्या वा भय हेरेर व्याख्या, विश्लेषण र प्रयोग गर्न सकिन्छ ।

No comments: