Sunday, June 1, 2008

नेपाली साहित्यमा भयवादः


नेपाली साहित्यिक आन्दोलनको विकास भएको धेरै भएको छैन । प्रमाणिक रूपमा मोतिराम भट्टले वि. सं. १९३६ सालमा गठन गरेको मोति मण्डली नै नेपाली साहित्यिक आन्दोलनको प्रारम्भिक रूप हो । मोति मण्डली, हलन्त बहिष्कार, झर्रोवादी, तरलतावादी लगायतका केही साना आन्दोलनहरू शिल्प, श्रृंगार, व्याकरण र शैलीमा केन्द्रित भएको हुनाले जीवन र जगतको बारेमा मौन छ । त्यसैले यसमा भयवाद हुने कुरै भएन एक अर्थमा । तर जीवनसँग प्रत्यक्ष सरोकार राख्ने आन्दोलनहरू मकैको खेती, आयामेली, राल्फाली, अमलेख, लीला लेखन, बूट पालिस, सृजनशील अराजकता, विशेष रंगवाद भयवादमा आधारित छन् । द्वन्दबिना नयाँ विचार आउँदैन भन्ने मान्यतालाई स्वीकार गर्ने हो भने प्रत्येक नयाँ विचार वा कोपिला भयवादीय हुन्छन् । घर्षणको मान्यतालाई र द्वन्दलाई मध्यनजर गर्दा कुनै पनि विचार, आन्दोलन भयको कारणबाट उत्पन्न भएको हुन्छ भन्दा अतिशयोक्ति नहुनु पर्ने हो । एक दलिय व्यवस्थाभित्र वा तानाशाही व्यवस्थाभित्र मुक्त र स्वतन्त्रताका लागि साहित्य गरिन्छ । यस साहित्यले समाजले व्यहोरिरहेको कष्टलाई प्राथमिकता दिएर साहित्य गर्दछ भने यसमा भयको मात्रा छैन भनेर भन्न सकिन्दैन । कतिपय साहित्य राज्य सत्ताको प्रत्यक्ष विरोध गर्दै त कति लुकेर राज्य सत्ताको ज्यादतिको भण्डाफोर गर्दै जनतालाई चेतना दिइरहेको हुन्छ । नेपालको धेरै साहित्यिक आन्दोलन राणा शासनको विरुद्धमा, निर्दलीय पञ्चायति व्यवस्थाको विरुद्धमा प्रत्यक्ष अप्रत्यक्ष आएको पाइन्छ । एक जाति, एक भाषा, एक धर्मलाई लक्ष्य गरेर पनि साहित्य गर्न थालिएको छ । एक दलिय निरङ्कुश व्यवस्था भित्र जाति र भाषाका साहित्य कैद थिए । निरङकुश व्यवस्थाले कैद गरेको र राज्य सत्ताले दमन गरेर पैतालामा राखेको अथवा विविध कारणले साहित्यको मूल धारले छोडेको दलित, जनजाति, आदिवासी, नारीको मूल नारा भएर उत्तर आधुनिक काल आइपुगेको छ । यस कालमा विश्वको कुना कुनाबाट छोडिएको विषय वस्तु मूल विषय वस्तु भएर धमाधम आइरहेको छ । नेपाली साहित्यले पनि भोगिरहेको यी विषय वस्तुहरू मूल धारको साहित्यमा लगालग आउन थालेका छन् । थिचोमिचो, दमन, अन्याय सबै भयको कारणले हुन्छ । उत्तर आधुनिक काल यस अर्थमा पनि भयवादीय साहित्यको काल हुन गइरहेको छ ।
नेपाली साहित्यको समालोचनामा भयवादीय साहित्यको तडकारो उपस्थिति हुँदाहुँदै पनि प्रकटको अभावले यसलाई गौण गरिएको छ । साहित्यमा भयवादीय धारको उपस्थितिसँगै समालोचनामा पनि विधिवत अवतरण हुन आवश्यक छ । यो एक विशेष धार हो जसले सबै धारहरूलाई प्रत्यक्ष प्रभाव पारिराखेको छ । नेपाली साहित्यले शैलीगत रूपमा केही उत्तर आधुनिकता प्रकट गरे पनि वैचारिक रूपमा प्रकट गर्न सकेको छैन । भयवादीय साहित्यले त्यो अभावलाई पूर्ति गर्छ भन्ने कुरामा हामी विस्वस्त हुन सक्छौं ।
समालोचकीय आधार
पुरानो मान्यताका समालोचनाभित्र अद्भौतिकता, आदर्शवाद, स्वच्न्दतावाद, ऐतिहासिकता, आञ्चलितकता, विसँगतिवाद, प्रगतिवाद, यौनवाद, अस्तित्ववाद, मार्क्सवाद, यथार्थवाद जस्ता मान्यताहरू खडा भैसकेका छन् । विश्व साहित्यमा निकै अगाडिदेखि उचालिन्दै आइरहेको जनजातीय समालोचनाले नेपाली साहित्यमा बिस्तारै घर बनाउँदै लगिरहेको छ । पुरानो मान्यताका समालोचकीय आधारभित्र भयवादीय समालोचना पनि एक आधार हुन सक्छ ।
नेपाली साहित्यिक आन्दोलनले पुराना मान्यतालाई खुराक हुने गरी साहित्यिक सुजनाहरू गरे र ती रचनाहरूलाई आफ्नै मान्यतामा राखेर समालोचना गरे । आयामेली साहित्यकारहरूले आयाममा राखेर साहित्यको सृजना गरे, लीला लेखनले लीला लेखनको आधारमा राखेर साहित्यको सृजना ग-यो र बाँकी आन्दोलनहरूले आफ्नै विचारहरूलाई पुस्टि गर्न मात्र साहित्यको सृजना गरे ।
भयवादीय साहित्यले आफ्ना सृजनाहरूलाई व्याख्या मात्र गर्दैन, पुरानो सम्पूर्ण कृतिहरूलाई पुनः समालोचना गर्नुपर्छ भन्ने मान्यता अगाडि सारेको छ । नेपाली साहित्यिक आन्दोलनका धरोहरू तेस्रो आयाम र लीला लेखन अहिलेसम्म पनि समालोचकको आँखामा समालोचकीय बन्न सकेको छैन । बाँकी आन्दोलनको त कुरै भएन । साहित्यिक आन्दोलनले समालोचकीय छुटटै आधार बनाउन सक्नुपर्छ । नेपाली समालोचकको आँखामा ती आन्दोलनहरू नपरेका हुन् कि ती आन्दोलन पूर्ण हुन नसकेकोले वेवास्ता भएको हो । अहिलेसम्म प्रवर्तक आफैले भनेर मात्र समालोचकहरू अलिकति आकृष्ट भएका छन् अन्यथा देखेकोलाई पनि नदेखेको मानिदिएका छन् । साहित्यको संवेदनशील अंगलाई खेलाएर भयात्मक समालोचना गर्न सकिन्छ अथवा "भयालोचना" गर्न सकिन्छ । भयालोचना भयवादमा लेखिएका कृतिलाई मात्र गरिन्दैन, हिजो लेखिएका कृतिलाई पनि भयात्मक समालोचनाको कसीबाट पुनर्मूल्याङकन गर्न सकिन्छ । अहिले जताततै प्रयोगको लहर छ । साहित्यमा नवीनताको खोज हामी गरिरहेका छौ । नयाँ लेख्ने प्रयास गर्र्छौ । कुनै एउटा नवीन विचारमाथि थालिएको लेखन धेरै भएपछि नवीन हुन छाड्छ । भयवाद अहिले नवीन लेखन हो । यसको विकासको प्रबल संभावना छ । यो विषय नै यस्तो विषय हो कि स्वयंमा आफै व्याख्या बोकेर आएको छ । जताबाट परिभाषा गर्दा पनि मिल्ने । मात्र खाँचो छ, लेखन यतातिर छ भन्ने । अर्को कुरा यो एउटा खोज हो । खोज यसकारणले हो कि यसले वादको बिन्दूलाई प्रकट मान्दै आएको छ । ती बिन्दूहरूमा गहन, अनुसन्धान, खोज बाँकी छ । ती खोजहरू भयवादीय प्रकटबाट खोजिनुपर्छ । सबैवादभित्र अन्वेषण हुनुपर्छ । जीवनभित्र उत्खनन हुनुपर्दछ । भयवादीय विचार, लेखन, समालोचना त्यतातिर गइरहेको छ । यसका शुत्रवत रूपमा विधि, प्रविधि हुँदैन । समस्या, भय, शंका, भ्रमको उत्खनन भएपछि हेर्ने विधि, लेख्ने विधि सोच्ने विधिमा प्रविधि बन्ने छन् । यही नवीन अन्वेषण, खोज, उत्खनन भयवाद भयवादी बन्दै जानेछन् ।

परिकल्पना
भयवादबाट जीवनलाई बढाउँदै लैजाँदा आम मान्छेलाई शंका उत्पन्न भएको भयवादको विमर्श, छलफल, अन्तरक्रियामा पाइएको छ । त्यो शंका हो सबै प्रकारको भयबाट मान्छे बाहिर निस्किन्दा वा भयमुक्त हुँदा जीवन, समाज, देश, विश्व नै अराजकतातर्फपो उन्मुख हुने हो कि - शंका मनासिब छ । संसारमा जुनसुकै विचारको पनि सकारात्मक र नकरात्मक पक्ष हुन्छ नै । कति सकारात्मक कति नकारात्मक भन्ने मात्र हो । कुनै एउटा मान्छे बाटोमा र्सप देख्न अगाडि जुन ढंगले ऊ हिँडिरहेको हुन्छ, ऊ अराजक हिँडिरहेको हुन्छ - पक्कै हुँदैन । ऊ आनन्दसित हिँडिरहेको हुन्छ, जब उसले र्सप देख्छ वा कुनै संक्रमक रोगको सिकार भएको थाहा पाउँछ तब उसका गतिविधिहरू, व्यवहारहरू परिवर्तन हुन्छन् । मान्छेको सम्पूर्ण जीवनलाई र्सप नदेख्दाको अवस्थामा लान सकिन्छ किको कोशिश छ । कतिपय मान्छे त डोरीलाई र्सप देखेर पनि भयभीत भैरहेको हुन्छ । यस्ता डोरीले धेरै मान्छेलाई तर्साइरहेको हुन्छ । जीवनमा वास्तविक कुरालेभन्दा अवास्तविक कुराले बढी तर्साइरहेको हुन्छ ।
प्रत्येक साना क्रियाकलापदेखि ठूला समाज, देश र विश्वको गतिविधि भयवाद हुने गर्दछ । कुनै मान्छेले रोग, गल्ती, समस्याबारे थाहा पायो, जीवन, मृत्युबारेमा थाहा पायो र ती सबै थाहापछि उसलाई भय हुन थाल्दछ । त्यो भय कम गर्न, मुक्त गर्न, सहजतातर्फलैजान उसले विभिन्न क्रियाकलाप गर्दछ । भयको बारेमा थाहा भएपछि गरिने प्रक्रिया र थाहा नभइ गरिने प्रक्रिया फरक छन् । सहजता, मुक्ति, अभय तर्फध्यानले गरिने कार्य भयवाद हुन्छ । व्यक्तिव्यक्तिले गर्ने भयवादको प्रक्रियाले समाज, देश र विश्वका मान्छेहरूलाई जिउने तरीकामा परिवर्तन गरिदिन्छ । यो नै भयवाद हो । त्यसैले भयवाद एकैचोटी सामूहिक हुँदैन, व्यक्तिव्यक्ति हुन्छ र सामूहिक, वैश्विक बन्दछ । अनि त्यहाँ हुने युद्ध, हत्या, हिंसा, अराजक, अन्तरमुखी, हिनताबोध, जाति, समाज, देशको सीमा रेखा हट्दै जान्छन् र सबै वैश्विक बन्दै जान्छन् । यो उन्नति र प्रगतिले भयलाई केही जितेको जस्तो हुन्छ । तर वास्तवमा यो एउटा मीठो भ्रम मात्र हो । उन्नति र प्रगतिले भयलाई कति पनि असर पारिरहेको हुँदैन । तर अबोध भएर गरिने क्रियाले मान्छेको जीवनमा परिवर्तन ल्याउँछ । यस्तै परिवर्तनले समाज, देश र विश्वमा नै परिवर्तन गरिदिन सक्छ । त्यसपछि बन्ने समाजको निर्माण भयवादको परिकल्पना हो ।

No comments: