Sunday, June 1, 2008

हिन्दू साहित्यमा भयवादः


हिन्दू धर्म ग्रन्थहरू साहित्यले भरिएका छन् । वेद, उपनिषद, पुराण, स्मृति, मिथक, दन्त्य कथा लगायत अन्य ग्रन्थहरूले भरपुर मात्रामा साहित्यिक खुराक दिएका छन् । यसै साहित्यमा आधारित भएर राजा महाराजाहरूले ठूला ठूला साहित्यिक भेलाहरू गरेका इतिहास पढ्न पाइन्छ । राजा जनक ऋषि, भोज राजा लगायतका भारत वर्षा राजा रजौटाहरूले साहित्यको रसपादन गरेका थिए । यी साहित्यहरूमा युद्ध प्रधान हुन्थ्यो, अनि प्रेम । युद्धका निमित्त षडयन्त्र, जालझेल गरिन्थ्यो नै । हिन्दू धर्मका प्रसिद्ध ग्रन्थहरू वेद, रामायण, महाभारत, गीताका उपदेशहरू युद्धका खातिर गरिएका थिए । पूर्वी साहित्यको मात्र होइन पश्चिमी साहित्यका आदि काव्य होमरको ओडिसी, इलियटमा युद्ध उल्लेखनीय रूपमा प्रकट भएको पाइन्छ । त्यसैले विश्वको साहित्य प्रेममयभन्दा पनि युद्धमय भएको हामी पाउँछौ । कतिपय भीषण युद्धहरू प्रेमका खातिर भएको पाउँछौ । प्रेममै भएको युद्ध पनि आखिरमा भयभन्दा पर छैनन् । एकातिर भयलाई यसरी बुझन सकिन्छ अर्कोतिर घर्षणको माध्यमबाट पनि बुझन सकिन्छ । घर्षण हुनु आफैमा युद्ध हो । यसलाई शून्य, विनिर्माणको माध्यमबाट पनि बुझन सक्छौ । जसरी शून्य, निर्भर माध्यम भएका छन्, त्यसै गरी घर्षण वा प्रकट पनि माध्यम हुन् । युद्ध जहिले पनि भयको कारणले उत्पन्न हुन्छ । त्यसैले हिन्दू साहित्यमा बेजोड रूपमा भयवादीय साहित्यको उपस्थिति छ । यो एक किसिमको र्सपडोरी पनि भइरहेको छ । यसले वास्तविकभन्दा अवास्तविक भय दिइरहको छ । धर्म नै भयमा आधारित भएकोले धार्मिक साहित्य भयवादीय साहित्य भन्दा पर हुन सक्दैन । मान्छेले रमाइलो गर्न, उत्सव मनाउन, मनोरञ्जन गर्न, खेल्न कदापि कहिले पनि धर्म मान्दैनन् । धर्मले प्रत्यक्ष भयसँग सम्बन्ध राख्दछ । धर्मले कसरी जीवनसँग सम्बन्ध राख्दछ, ती कुराहरूलाई त धार्मिक ग्रन्थहरूले प्रकट गरिसकेका छन् । जीवनले धर्मसँग सम्बन्ध राख्नुको कारण भय हो भनेर साहित्यले देखाउनु परेको छ । यहाँ केन्द्रीय वस्तु एउटै भएपनि प्रकटहरू फरक छन् । पौराणिक ग्रन्थले बोकेको नीति, अनुशासनका कुराहरू भयपरक छन् भनेर हेर्नु पर्ने एउटा अवधारणाको विकास भैरहेको छ । पौराणिक ग्रन्थहरूले भयलाई व्याख्या गर्न नसक्दा केवल मीठो मनोरञ्जनको साधन र समय कटौनी बन्न पुगेको छ । यी ग्रन्थको माध्यमबाट प्रत्यक्ष रूपमा जीवनमा व्यवहार भएको हामीले पाइरहेको छैनौ । केवल सतहको रूपमा मान्छेहरूले उपयोग गरिरहेका छन् । भयवादीय दृष्टिकोण दिनासाथ जीवनमा व्यवहार हुन्थ्यो भन्ने लागेको छ ।
हिन्दू साहित्यका महान ग्रन्थहरू रामायण, महाभारत, पुराण, स्वास्थानी ब्रत कथाहरूमा स्तुति गान छन्, भक्ति गान छन्, शक्ति गान छन् । रामको चौध वर्षो वनबास होस, या सीताको आत्महत्याको कुरा होस, कौरब र पाण्डवको युद्धको कुरा होस या शिवजी, दुर्गाको शक्तिको कुरा होस यी सबैमा अस्तित्व खोजिएको छ, चाहे त्यो अंशको नाममा होस, चाहे राज्यको नाममा होस । यसरी हिन्दू धर्मका महान धर्म ग्रन्थ जुनसुकै रूपमा प्रकट भएको भएपनि यी भयको टेबुलमा फुलेका सुन्दर फूल बनेका छन् भयको आँखामा । टेबललाई प्राय वास्ता गरिन्दैन, टेबलमा फुलेको फूलको मात्र प्रशंसा गरिन्छ, लेखिन्छ र पढिन्छ । हामीले जहिले पनि हिन्दू साहित्य नीति, दन्त्य कथा, मिथक आध्यात्मिक सन्तुष्टीको रूपमा पढेका छौं । वास्तवमा हामीले जसरी पढेको, बुझेको भएपनि एउटा प्रत्यक्ष कारण भय हो । त्यसैले हिन्दू साहित्य भयवादको केन्द्रीयतामा विविध रूप र आकारमा अवतरित भएको छ । अथवा भय न्युट्रोनको वरिपरि परिक्रमा गर्ने थुप्रै इलेक्ट्रोन प्रोटोनहरू सिद्धान्त, विचार र साहित्य भएका छन् ।

No comments: