Sunday, June 1, 2008

आयामेली आन्दोलनः


नेपाली साहित्यमा गहन अस्तित्व बोकेर आएको तेस्रो आयाम अथवा आयामेली आन्दोलनले नेपाली साहित्यको पुरानो मान्यतालाई नयाँ रूपबाट विकास गरिदियो । यसको प्रभाव नेपाली साहित्यमा यति गम्भीर ढंगबाट प-यो कि यसलाई साहित्यकार, पाठकहरू नेपाली साहित्यिक आन्दोलनको उचाइ ठान्न थाले । त्यसैले तेस्रो आयाम नेपाली साहित्यिक आन्दोलनको कहिले नढल्ने कोसे ढुंगा बनेर बसिदियो । चारवटा मान्यताहरूलाई साहित्यकारहरूले आफ्नो क्षमता अनुसार बुझे र व्याख्या गर्न थाले । फलस्वरूप तेस्रो आयाम अहिले आएर एउटा करिबकरिब किमदन्ती नै बन्न गएको छ र कसैले यसलाई हल्लाउने आँट गर्न सकेका छैनन् । अहिलेसम्म पनि यो दिगो बनेर बस्न सफल भएको छ । के वास्तवमा तेस्रो आयामले जीवन र जगतका सम्पूर्ण कुराहरू समेटेको छ - एउटा टडकारो प्रश्न मनभित्र कुदाउन सकिन्छ । वस्तुता र सम्पूर्णताले जीवन र जगतका सबै पक्षलाई छुइदिएको छ, केवल छुइदिएको मात्र छैन, गहिरो रूपमा प्रभाव पारिदिएको छ । खासगरी टाइम र स्पेशको कुरा गरेर अथवा लम्बाइ, चौडाइ र गहिराइको कुरा गरेर । यो आन्दोलनको घोषणा नेपाली साहित्यका शीर्षस्थ व्यक्तिहरूबाट थालनी हुनु, विषय वस्तुको गहिरो अध्ययन हुनु, त्यही योग्यतामा व्याख्या गरिनुले आन्दोलनलाई दीर्घायु बनाएको छ । निरङ्कुश व्यवस्थाभित्र छटपटिरहेको नेपाली साहित्यले यो आन्दोलनबाट एक किसिमको निकासा पाएकोले पनि नेपाली साहित्यमा यसको ठूलो महत्व रहँदै आएको छ ।
हामी यहाँ आयामेली आन्दोलनको सम्पूर्णता र लम्बाइ, चौडाइ, उचाइलाई एकछिन हेरौं । प्रथम कुरा त तेस्रो आयामका एउटा मान्यता सम्पूर्णता छ । यही मान्यताभित्र सम्पूर्ण कुरा छ भने बाँकी मान्यताहरू केको लागि । बाँकी मान्यताहरूको आवश्यकता छैन भने यो सम्पूर्णता मान्यताको के अर्थ ? वस्तुताको सवालमा आइ. बि. र्राई स्वयंले लीला लेखन आयामको त्वको खोजी हो भनेर स्वीकारी सक्नु भएको छ । हामी वस्तुको लम्बाइ, चौडाइ र उचाइमा रुमलिएर हिँड्ने हो त ? कुनै एउटा वस्तुलाई नाप्न लम्बाइ, चौडाइ र गहिराइ प्रयाप्त छ ? यी त भौतिक कुरा भए । भौतिक कुरा मात्र सम्पूर्ण हुन सक्दैन । वस्तुलाई जस्ताको तस्तै लेख्दा उसको भौतिकता उपस्थित हुन्छ । तर त्यसमा भएको छायाँ वा सजीव वस्तुको कुरा गर्ने हो भने भावना, आत्मा देखिन्दैन । यसको व्याख्या छोडिएको लाग्छ ।

No comments: