Sunday, June 1, 2008

भयको पारो ओर्लिन्द क्रम


माथिको चित्र नं. १४ को चित्र नं. १ मा चेतनाको पूर्ण अवस्था र भयको पूर्ण अवस्था नै पूर्ण जीवन भनेर देखाइएको छ । पूर्ण जीवनले मात्र जीवन र जगतलाई देख्दछ । चेतनशील प्राणीलाई अरू तत्व काम, क्रोध, माया, मोह, शंका, भ्रमले भन्दा भयले बढी प्रभाव पार्दछ । जीवन शून्यता, भिन्नता, अस्तित्व, भ्रम, शंका, क्रोध, यौनले मात्र पूर्ण हुँदैन, जीवन पूर्ण हुन त भय देख्नुपर्छ । जीवन पूर्ण गर्न भयको साहित्य, कला र संगीत गर्नुपर्दछ । भयवादीय चिन्तन भनेको कोपिलामय, प्रकटमय र शिशुमय चिन्तन हो । माथिको चित्र नं. १ मा भयबाट उत्रिन्दै गएपछि जीवन कोपिलामय, शिशुमय बन्दै गएको देखाइएको छ र प्रत्येक सुक्ष्म समय एक अर्थमा आफैमा प्रकटमय हो । किनभने प्रत्येक सुक्ष्म समयमा परिवर्तन प्रकट भैरहेको हुन्छ ।
चित्र नं. १४ मा देखाइ जस्तै जब जब जीवनबाट भयको पारो ओर्लिन्दै जान्छ, जीवन कोपिलामा प्रवेश गर्छ, र जब भयका पत्रहरू खोलिसक्छन्, तब फूल फुल्दछ । यही हो भय साहित्य जसले जीवनलाई काँडाबाट, ढकानबाट निकालेर सुन्दर बनाउँछ । जीवन बुझने तरीका हो यो । प्रत्येक सचेत प्राणी जसरी बाँच्न चाहान्छ ठीक त्यसरी नै फूल फुल्नलाई पनि धेरै संघर्ष पार गरेर आएको हुन्छ । भय साहित्य फूल फुलेर भमरा र पुतली लाग्दाको साहित्य होइन, केवल ढकनाबाट निस्केको फूल साहित्य हो । फूलमा पुतली भँमरा लागेपछि फूलको जीवन चक्र शुरु हुन्छ । भयले त्यति पर लग्दैन । कोपिलालाई बाहिरका पत्रहरूले संरक्षण गरेको हुन्छ, त्यसरी नै एक अर्थमा जीवनलाई भयले । यदि कोपिलालाई बाहिरी पत्रले फुल्नै नदिने गरी बेरेर राख्छ भने सुन्दर कोपिलाको सौर्न्दर्य लुप्त हुन्छ । जीवनलाई भयले छोपिदियो भने जीवनको सौर्न्दर्य पनि बिरुवाको जस्तै लुप्त हुन्छ । भयबाट जीवनलाई निकाल्नुको अर्थ जीवनलाई सडकमा छोडेको गोरु जस्तो बनाउनु चाहि होइन । कोपिलाबाट फूल बनाउनु हो ।
चित्र नं. १४ को चित्र नं. १ मा चेतनाका अवस्थाहरू देखाइएको छ । अवचेतना भनेको करिब करिब सुषुप्त अवस्था हो यो सुषुप्त अवस्था साना साना सुक्ष्म बिन्दूबाट बढदै सुप्त अवस्थामा पुग्छ । सुप्त अवस्थाबाट बढदै जागृत अवस्थामा पुग्छ सुषुप्त अवस्थाबाट जागृत अवस्थामा पुग्न चेतनाले अनगिन्ती समयका कालखण्ड पार गर्दछ । चेतनाको बढ्दो अवस्थासँगै ज्ञान र भयको मात्रा बढ्दै जान्छ । अहंम, अस्तित्व, समस्या, चिन्ता, शंका, भ्रम, क्रोध भयका उत्प्रेरक तत्वहरू हुन् । चेतनासँग गाँसिएका अनेकौं कुराहरू समय र अवस्थासँग रूप परिवर्तन गर्दै भयका उत्प्रेरक तत्वहरूसँग मिल्न आउँछन् र भयलाई बढाउन मदत गर्छन् । चित्र नं. १ मा एकातिरबाट चेतना बढिरहेको छ भने अर्कोतिरबाट भय, बीचमा ज्ञान रेखा । जहाँ चेतना, ज्ञान र भय मिलेका छन्, यो पूर्ण जीवनको अवस्था हो । ज्ञानका रेखाहरू चेतनाबाट निस्केर समस्या -भय) सम्म पुगेका छन् । त्यसपछि मात्र मान्छेले जीवनलाई पूर्णमा बुझेको हुन्छ र भयलाई पनि । यही अवस्थाबाट नै ऊ जीवन र जगतलाई बुझछ, बुझाउँछ र व्याख्या गर्छ । यो अवस्थाबाट ऊ जे बुझछ, यो उसको चरम बुझाइ हुन्छ । खास गरी मान्छेले आफूलाई जहिले पनि यही अवस्थामा भएको ठान्दछ । तर क्षमता अनुसार यो तलमाथि पनि पर्न सक्छ । लेखकहरूले तलबाट माथिसम्म गएको जुनै बिन्दूलाई पनि आफ्नो लेखन ठान्न सक्छन् । तर भय लेखनको प्रयास भयको मात्रालाई लेखन प्रविधिबाट तल झार्नु हो । चित्र नं. १ मा भय लेखनको रेखाले भय तल झरेको देखाएको छ । भयको मात्रा बढ्दै जाने भएकोले लेखनको यो प्रयोग कला, संगीतमा पनि गर्न सकिन्छ ।
चित्र नं. १४ को चित्र नं. २ माथिबाट तल झरेको रेखा फूलमा देखाइएको छ । फूलले उम्रेपछि अनेकौं विकासको चरण पार गरेर कोपिला लाग्ने अवस्थामा पुग्छ । फुल्नु अगाडि कोपिलाले आफूलाई ढाक्ने पत्रलाई हटाएर बाहिर निस्किन्छ र कोपिला हुँदै फुल्न पुग्छ । फूलले फुल्ने अवस्थामा पुग्न आन्तरिक र बाहृय अनेकौं समस्याहरूसित संघर्ष गरिरहेको हुन्छ । तर पनि पनि फुलेरै छाड्छ । फूलका प्रत्येक अंगहरू सुम्सुमाउन योग्य र कलाउँदा हुन्छन् । ती सुकोमल अंगहरू मध्ये कोपिला सबै भन्दा मोहक हुन्छ भन्दा अतिशयोक्ति नहोला ।
चित्र नं. १४ को चित्र नं. ३ मा एउटा बिरुवाको उदाहरण छ । बीऊलाई माटोमा रोपेपछि बाहिरी आवरण छेडेर टुसाउन थाल्छ माटोभित्र अनि माटो बाहिर । उसको आफ्नै
बाटोमा पनि हाँगा, पात, कोपिला, फूलको प्रकट भइरहन्छ । प्रत्येक प्रकटमा आन्तरिक र बाहृय रूपमा प्रभावकारी तत्वहरू हावा, पानी, घामले प्रभाव पारिराखेको हुन्छ । ठीक त्यसरी नै मान्छेमा प्रत्येक पटक प्रकटहरू भइरहेका हुन्छन् । चेतना जीवित भइन्जेल समस्याको बारेमा ज्ञान दिदै भय भैरहन्छ ।
फूलको जीवनलाई निर्विवाद रूपमा मानिसको जीवनसँग तुलना गर्न सकिन्छ । मान्छेलाई जन्मेदेखि मृत्युसम्मको प्रत्येक क्षण अरुलाई भन्दा पनि आफूलाई आफ्नो जीवन मोहक लाग्छ । मान्छे हरपल कोपिलाको खोजीमा भौतारिरहन्छ । जीवनका प्रत्येक चरणमा हुने परिवर्तन कोपिला हुन् । आमाको गर्भबाट जन्मिनु, हुर्किनु, विवाह गर्न, मर्नु । त्यस्तै ज्ञान प्राप्त गर्नु, आविष्कार गर्नु, विकास गर्नु सबै कोपिला हुन् । जीवन र विकास कोपिलाका श्रृंखला हुन् । एउटा कोपिला लाग्छ, फेरि अर्को कोपिला लाग्छ । भय सोच कोपिलाहरूको आविष्कारको सोच पनि हो ।
यही कोपिलालाई विनिर्माणवादका प्रवर्तक ज्याक डेरिडाले विभिन्नता भने होलान्, यही कोपिलालाई नागार्जुनले शून्यता भने होलान् । यही भिन्नता र शून्यतालाई अर्को शब्दमा कोपिला भन्न सकिन्छ । डेरिडा एकातिर केन्द्रहिनताको कुरा गरिरहेका छन् । स्थायी, निश्चित, केन्द्र र परिधिहरू नै नभएपछि ती केन्द्रहरू भिन्नता, शून्यता र प्रकटहरू नै हुन् । यी कोपिलाहरू भयसँग बाँधिएर आएको हुनाले जीवनसँग यसको सम्बन्ध छ । कोपिलाले जति गहिरो सम्बन्ध निर्जीव वस्तुसँग राख्दछ, त्यो भन्दा बढी सम्बन्ध सजीव वस्तुसँग राख्दछ । विनिर्माणवाद र शून्यवाद सजीव र निर्जीवमा हाराहारी देखिन्छ । भयवादमा देखेर, बुझेर जीवनसँग सापेक्ष राख्ने वस्तुहरूको अस्तित्वको कुरा गरिन्छ । जीवन छैन भने सबै वस्तुहरू नगण्य हुन जान्छन् । त्यसैले जीवनमा भय निरपेक्ष छ, यसैको सापेक्षतामा प्रत्येक गतिविधिहरू सञ्चालन हुन्छन् । वस्तुहरूको निमित्त जीवन निरपेक्ष छ । जीवनमा नै सबै जीवन र जगत निर्भर गर्दछ ।
दोस्रो विश्वको भयाभय स्थितिले ओकेलेर छोडेको उत्तर आधुनिक कालमा त्यस अघिका मान्यताहरू भत्काउने नयाँ मान्यताहरूको प्रकट भयो । सजिलैसँग भनियो,
बद्ध - मुक्ति
अनुशासन - अराजक
उत्पादन - प्रक्रिया
संश्लेषण - वैपरित्य
उपस्थिति - अनुपस्थिति
गहिराइ - सतह
सुनिश्चितता - अनिश्चितता
सर्वकालिकता - तात्कालिकता
यी मान्यताहरू भनेको सजिल्यैसँग भत्किन सक्छन् ? एउटा सजिलो उदाहरण बद्ध भएका वस्तु के पूर्ण मुक्ति हुन सक्छ ? खास गरी भयबाट कोही मान्छे मुक्त हुन सकेका छन् ? सर्वप्रथम त भयबाट कोही पनि मुक्त हुन सक्दैनन् । सबै पुरानो मान्यताबाट नयाँ मान्यतामा प्रवेश गर्ने प्रयास गर्छन् भयवादीय चिन्तन जीवन सहजता उन्मुख लेखन, चिन्तन मात्र हो । यस मार्गमा प्रकट र सहजताको प्रकट समानान्तार रूपमा जाने प्रयास हो । किनभने अन्तिम मुक्ति एउटा असंभव गर्त हो । त्यसरी नै जति पनि बद्ध छन् ती सबै मुक्तको यात्रामा भयवादीय प्रकटबाट हिँड्दछन् । जीवनको सबै भन्दा नजिकको साइनो मृत्युसँग हुन्छ । जीवनदेखि मृत्युसम्मको यात्रामा गरिने क्रिया, प्रतिक्रिया, प्रक्रियालाई असर पार्ने तत्वहरू नै भय मण्डल हुन् । भय मण्डलको कुहिरोभित्र आफूलाई खोजिने गतिविधिको संगालो नै भयवादीय चिन्तन हो ।
यसरी नै माथि उल्लेख गरिएका बद्ध, अनुशासन, उत्पादन, संश्लेषण, उपस्थिति, गहिराइ, सुनिश्चितता, सर्वकालिकताबाट हिँडेर मुक्ति, अराजक, प्रक्रिया, वैपरित्य, अनुपस्थिति, सतह, अनिश्चितता, तात्कालिकतासम्म पुग्दा तय गरिने यात्रा नै भयवादीय यात्रा हो । भयवाद एउटा प्रक्रिया, एउटा माध्यम हो जसलाई सहजताले डो-याएर प्रकटहरूमा हिँडाउँदै भयवाद सम्म पुर्‍याउँछ । भयवाद नवीन कुराहरूको खोजी गर्नु र पुरानो विचारहरू भित्र पनि नवीन कुरा खोज्नु हो । यो दर्शन, साहित्य, विचारले छोडेको भागको खोजी हो एकातिरबाट भने अर्कोतिर भेट्टाइएका भित्रको नवीन खोज हो । किनभने दर्शन, विचार, साहित्य, कला सबैले जीवन सहजताको लागि रचना, संरचना, संरक्षण, आविष्कार गर्दा यसैको निमित्त गरेपनि भयलाई अँध्यारो भागमा कतै छोडेको हुनाले त्यसको खोज हो । यस खोजमा दर्शन, कला, साहित्यले जीवनको अध्ययन, अनुसन्धान गरेर भय खोजिन्छ र त्यसलाई वाद तर्फअग्रसर गराइन्छ । दर्शन, विचार, साहित्य प्रकटको एउटा बिन्दूमा विश्राम गर्छन् भने विश्रामित स्थानबाट उठाएर हिँडाउनुपर्छ । जस्तै शून्यवाद, विनिर्माणवाद, मार्क्सवाद, अस्तित्ववाद, विसँगतिवाद एउटा बिन्दूमा पूर्ण विराम लागेर बसेका छन् भने भयवाद त्यसलाई केवल एउटा मात्र प्रकट मान्न तयार छ र त्यसता प्रकटहरू जीवनभर नै भइरहन्छन् भन्ने मान्यता बनाउन चाहान्छ । यी तमामवादहरू त्यसपछि के भए भन्ने खोज पनि यहाँ समावेश गरिएको छ । माथिका बाँयातिरका बद्धहरू दायाँ खुलातिर हिँड्दा हिँडिने माध्यम हो भयवाद । कुनै एउटा विचारमा बद्ध, निश्चित भएर बस्नु भनेको विश्राममा बस्नु हो भने अर्को विश्राममा हिँड्नु भनेको खुला हुनु हो । निश्चय पनि विचार, प्रयोग एउटा घरभित्र कैद भएर बस्दैन । त्यो त अनन्त खुला उडन चाहान्छ । भयवाद यथास्थितिमा हुँदैन गतिमा हुन्छ । मार्क्सवाद भनेर अडेर बस्नु भनेको कैदी हो त्यहाँबाट हिँड्दै लेनिनवाद, माओवाद, जुचे विचारधारा र अझै त्यहाँ भन्दा पर हिँडिरहनु पर्छ । विनिर्माणवाद, हिँड्दै लीला लेखन, सृजनशील अराजकता जानुपर्छ त्यस्तै अस्तित्ववाद हिँड्दै जानुपर्छ, शून्यवाद, भौतिकवाद, नारीवाद, प्रकृतिवाद, अध्यात्मवाद सबै हिँड्नुपर्छ । यो नै प्रकट हो । प्रकटको श्रृंखला नै भयवाद हो । समरसेट ममले चिडियाखाना, संग्राहलयमा गएर जनावरहरूबाट शब्द आविष्कार गर्न खोजे, हिराको चमकबाट शब्द आविष्कार गर्न खोजे जस्तै विचार र दर्शनभित्रबाट नयाँ विचार, शब्दको आविष्कार गर्नु नै भयवाद हो । यसरी खोज्दै जाँदा असरल्ल भय भेटिन्छ । भयहरू अनियन्त्रित, प्रणाली विहिन, अराजक अवस्थामा लडिरहेका, उभिरहेका, कुदिरहेका हुन्छन् । ती सबैलाई सहजताको बाटोबाट विभिन्न प्रकटहरू पार गर्दै लैजानुपर्छ । यी माध्यमबाट जीवन सहज बन्दछ । यसलाई कला, साहित्य, सँस्कृति सबै माध्यमबाट लान सकिन्छ ।

No comments: