Sunday, June 1, 2008

प्रकटः


प्रत्येक प्रकट ज्ञान प्राप्त हुनु हो । प्रत्येक ज्ञान प्राप्त हुनु नयाँ यात्राको निमित्त कोपिला लाग्नु हो । तरुलको बिरुवाले जमिन फुटाएर जब बाहिर निस्किन्छ, त्यो एउटा कोपिला लागेको अवस्था हो । जब उसको हाँगा निस्किन्छ, अर्को यात्राको निमित्त कोपिला हो । अनि फूल फुल्न अगाडि कोपिला लाग्छ अर्को अवस्था हो । उसको जीवनभरि प्रत्येक सुक्ष्म समयको खण्डमा कोपिला लाग्ने गर्दछ । जीवन कोपिलाहरूको लामो श्रृंखला हो । यो माला जस्तै उनिन्दै आएको हुन्छ । मान्छेले जन्मिनुभन्दा अगाडिदेखि कोपिलाका श्रृंखलाहरू शुरु गरिसकेका हुन्छन् । जन्मिनु, हुर्किनु र बढनु, यी प्रत्येक क्षणहरू कोपिलाहरू हुन् । ज्ञान प्राप्त गर्नु हुर्किनु, बढनु, विवाह गर्नु, सन्तान पैदा गर्नु जस्तै एउटा एउटा कोपिलाहरू हुन् । यी कोपिलाहरू प्रकट (Enlightment) हुन् । किनभने एउटा रूपबाट अर्को रूपमा प्रकट भएका हुन्छन् । प्रकटको सुन्दर रूप कोपिला हो । जिसस, मोहमद, सिर्द्धार्थका ज्ञान प्राप्त गर्नु र ज्ञानको प्रचारप्रसार गर्नु केवल एउटा कोपिला लाग्नु मात्र हो । किनभने यस्ता कोपिला ज्ञान वा प्रकट सधैँ नै भैरहेको हुन्छ । फरक यति हो कुनै उल्लेखनीय हुन्छ कुनै अउल्लेखनीय । पढ्दा, लेख्दा, हिँड्दा, बोल्दा ज्ञान प्राप्त भइ नै रहन्छ ।
यी प्रत्येक श्रृंखलामा कोपिला लाग्नुलाई शून्यवादीहरू शून्यवाद भनेर तर्क गर्छन्, भने विनिर्माण वादीहरू वस्तु फरकको कुरा गर्छन् । समयको सबै भन्दा सुक्ष्म खण्डमा बढेको बिरुवालाई शून्यवादीहरू शून्यको कारणले भनिरहेका छन् भने विनिर्माणवादीहरू फरकको कारणले समयको सानोभन्दा सानो खण्डमा सजीव वस्तुहरू बाधाबन्धन तोडेर अगाडि बढ्न खोज्छन् । फलस्वरूप विस्फोटन हुन्छ र नयाँ रूपमा प्रकट भैदिन्छ । निर्जीव वस्तुहरूलाई चलायमानहरूले प्रभाव पारिराखेको हुन्छ । त्यसैले उनीहरूको रूप परिवर्तन भैरहेको हुन्छ । उनीहरू बाधाबन्धन भत्काउँदै अगाडि बढ्छन् हावापानीजस्तै । मान्छे जन्मिनु, बिरुवाले जमिन फुटाएर बाहिर निस्किनु, पानीले बाँध फुटाएर बगिजानु समान प्रक्रियाहरू हुन् । नानीहरूले प्रत्येक काल खण्डमा नयाँ नयाँ कुराहरू सिकिरहेका हुन्छन् । यो सबै ज्ञान प्राप्तिको कारणले संभव भएको हो । मान्छेहरू हरेक क्षण ज्ञान प्राप्त गरिरहेका हुन्छन् । कोपिलाले आफूलाई घेरिरहेको ढकनीहरूलाई भत्काएर बाहिर निस्केको जस्तै प्रत्येक ज्ञान प्राप्तमा अवरोधहरू भत्किरहेका हुन्छन् ।
प्रत्येक ज्ञान प्राप्त कोपिला लाग्नु हो । ती कोपिलामा पुतली, भँमरा लाग्नुको हिसाब जोडिएको हुँदैन । प्रत्येक प्रकाश अँध्यारोबाट निस्किन्छ । जब त्यसले उज्यालो प्राप्त गर्छ, त्यो त कोपिला नै हुन्छ । भयवादीय चिन्तनको उद्देश्य नै ती कोपिलाका बिन्दूहरू हुन् । यसलाई नागार्जुनले शून्य भने होलान्, ज्याक डेरिडाले भिन्नता भने होलान् । भिन्नता, शून्य सजीव र निर्जीव दुवैमा लागू हुन सक्छ, भने भय जीवनमा । प्रकाश निरपेक्षको सत्यता जस्तै जीवनको निमित्त भय निरपेक्ष हो । जीवन भएन भने जगत केवल शून्य हुनजान्छ ।
कुनै एउटा ढुङगा स्थिर रूपमा बसिरहेको हुन्छ । हामी ठान्छौं यसका कसरी प्रकट हुन्छन्, यो एउटा निर्जीव वस्तु हो । यसैलाई चारैतिरबाट माध्यमको रूपमा रहेको बाहृय तत्वहरूले हानिरहेको हुन्छ र प्रत्येक पल विघटन भइरहेको हुन्छ । केही अगाडि देखिएको ढुङगा र केही समय पछाडि देखिएको त्यही ढुङगा नितान्त रूपमा फरक ढुङगा हुन्, त्यहाँ थुप्रै प्रकट भइसकेका हुन्छन् । प्रत्येक प्रकटहरू ठूलो संघर्षले मात्र प्राप्त हुन्छ । शाक्यमुनि बुद्धले प्राप्त गरेको ज्ञान एउटा प्रकट हो । यो ज्ञान प्राप्त गर्नलाई उसले भोकै तिर्खै ठूलो संघर्ष गर्नु प-यो । धेरै संघर्ष खोजपछि कुनै एउटा कुराको ज्ञान हुन सक्छ । अथवा खोजिएको वस्तु खोजिएको रूपमा वा नयाँ रूपमा प्राप्त हुन सक्दछ । कोलम्बसले भारत खोज्न जाँदा अमेरिका पत्ता लगाए । वैज्ञानिकहरूले एउटा विषयको अनुसन्धान गर्दा अर्को वस्तुको आविष्कार गरेको कैयौ उदाहरण छन् । प्रत्येक प्रकटलाई कुनै वस्तुले छोपेर राखेको हुन्छ र नै प्रकट हुन्छ । अन्यथा प्रकट हुने सवालै पैदा हुदैन । बीऊले बोक्रा फुटाएर बाहिर निस्किनु, बिरुवाले माटो फुटाएर बाहिर निस्किनु जस्तै मान्छेले सफलता पाउन धेरै संघर्ष गर्नुपर्छ । बीउ जस्तै मान्छेको जीवनलाई भयले छोपेर राखेको हुन्छ र मान्छे यो भयबाट मुक्ति पाउन साँझबिहान छटपटाइरहेको हुन्छ । यही छटपटावटले गर्दा मान्छेमा उन्नति र प्रगति हुन्छ । यो उन्नति र प्रगतिले भयलाई केही जितेको जस्तो हुन्छ । तर वास्तवमा यो एउटा मीठो भ्रम मात्र हो । उन्नति र प्रगतिले भयलाई कति पनि असर पारिरहेको हुँदैन । किनभने भयको बाटो नै फरक छ । भय आफ्नै बाटोबाट प्रकट भैरहेको हुन्छ । यही प्रकटलाई समाउँदै जानु भयवादको मूलभूत उदेश्य हो । भयबाट सहजताको स्थितिमा आउने कुरा जति सहज ढंगबाट भन्न सकिन्छ तर वास्तविक जीवनमा त्यति सहज छैन । यसलाई व्यवहारमा उतार्न झन् गाह्रो कुरा हो । तर पनि मान्छेले निरन्तर प्रयास गरिरहेकै हुन्छ । प्रत्येक प्रकटहरू यसैमा केन्द्रित हुन्छन् । कतिपय मान्छेहरू यसलाई मान्न तयार नहुन सक्छन् । धेरै थोरै लेखाइले मान्छेलाई असर गर्दछ नै । भयलाई खुलस्त खुलाएर राखेपछि आशा छ मान्छेमा नयाँ प्रकट आउन सक्दछ । यो प्रकटले मान्छेको जीवनलाई अलिकति पनि सहज बनाउन मदत ग-यो भने त्यसलाई ठूलो प्रकट मान्नु पर्दछ ।
मान्छे जन्मिन्छ, हुर्किन्छ, घरजम गर्छ, वृद्ध हुन्छ र एक दिन मर्छ । यी सबै प्रकटहरू हुन् । मान्छे जन्मिनु र मर्नु सम्ममा अनगिन्ती प्रकट हुन्छन्, यस्तै वनस्पतिको हुन्छ, संसारको हुन्छ । यही प्रकटहरूको श्रृंखलाहरूले जीवन र जगत अडेको छ । यो प्रकटको नियमित बाटो हुदैन । कुनै एउटा वस्तुको दोस्रो प्रकट अज्ञात हुन्छ । किनभने जन्मिन्छ भनेर पर्खिरहेको नानीको पेटमै मृत्यु पनि हुन सक्छ । पेट मै मृत्यु भएपनि प्रकटै नै हो ।

जीवनलाई भयले मात्र निर्देशन गरेको छ ?
भयवादको विकासको क्रममा धेरै मान्छेहरूसित विमर्श हुँदै आएका छन् । जीवनलाई भयले मात्र निर्देशन गरेको हुँदैन भन्ने तर्क पनि आइरहेको छ । एउटा पक्षले जीवन भयबाट निर्देशित छ भनी स्वीकार गरिरहेका छन् भने अर्को पक्षले भयले मात्र जीवनलाई निर्देशन गर्दैन भन्दै आइरहेका छन् । भयले निर्देशन नगरेका क्षेत्र वा विषय भनेको मनोरञ्जन, खेल, आमोदप्रमोद, प्रेम, खुशी, रमाइलोजस्ता भन्ने उनीहरूको तर्क हुँदै आएको छ । पहिलो कुरा त यी मनोरञ्जन गरिएका आनन्द, आमोदप्रमोद, संगीत, सबैभित्र भय नै भय हुन्छ । संगीत सुनिरहँदा कान दुख्छ कि, बिजुली जान्छ कि, आवाज सानो हुन्छ कि, गीत नराम्रो हुन्छ किको भय भइ नै रहन्छ । त्यस्तै चलचित्र हेर्दा, खेलहरू खेल्दा पनि भइरहन्छ । त्यसैले भयले नछुएको कुनै क्रिया जीवनमा पाउन सकिन्दैन । कतै न कतैबाट भय भैरहेको हुन्छ । यति मात्र हो कसैले तुरुन्तै स्वीकार्छन्, कसैले स्वीकार्दैनन् । नस्वीकार्ने पक्षले पनि ढिलो छिटो नस्वीकारी हुँदैन । यही नै यथार्थ हो ।
कुनै मान्छे बाटोमा हिँडिरहेको छ उसलाई कुनै कुराको भय भएर हिँडेको हुँदैन भन्ने तर्क हुन्छ । तर जब उसले बाटोमा र्सप, खाल्टो, भिर, गाडी देख्छ अनि उसलाई भय हुन थाल्दछ । झट्ट हेर्दा यी विषयहरू भयमा पर्दैनन् कि जस्तो लाग्छ । तर सबै क्रियाको पछाडि कुनै न कुनै उद्देश्यले भय लुकेको हुन्छ । मान्छेहरू त्यसै मनोरञ्जन गर्ने, खेल्ने, खुशी हुने, रमाइलो गर्ने, आनन्द गर्ने गर्दैनन् । ती सबैको पछाडि काम, दुःख, कष्ट, चिन्ता, रोग, डर, समस्या, शंका, भ्रम हुन्छ नै । । खेलिरहेको ठाउँमा हार्ने, लड्ने, चोटपटक लाग्ने त्यतिकै संभावना हुन्छ । ती समस्याहरूबाट एकछिन भएपनि छुटकारा पाउन मान्छेहरू यी क्रियाकलाप गर्छन् । फेरि जन्मदेखि मृत्युसम्मको यात्रामा वा घटनाको संभावनादेखि घटनासम्म यी विषयहरू आउँछन्जान्छन् । मूल विषय यो हुँदैन, फेरि हामी यसलाई जीवनमा प्रमुख विषय बनाउन खोज्दाखोज्दै पनि बनाउन सकिरहेको हुँदैनौँ । जीवनमा सधैँ भयबाट पीडित भएपछि यसबाट राहत पाउन हामी केहीक्षणलाई भएपनि यी क्रियाकलापमा भुल्न चाहान्छौ । कहिलेकहीँ यी क्रियाकलापमा भुल्न खोज्दा झन् समस्या उत्पन्न भएको पनि हामीले पाएका छौ । तास खेल्ने मान्छे, मद्यपान गर्ने मान्छे, वनभोजमा जाने मान्छे विभिन्न घटनामा पर्‍यो भने झन् समस्या हुन्छ र भय बढाउँछ । त्यसैले यी विषयहरू देख्दा भयपरक नभएपनि भयभन्दा बाहिर हुँदैन ।
वास्तवमा यो विषयले जीवनमा सानो भाग ओगद्छ । मूल विषयको पूरकको रूपमा आउँछ वा भयले सधैँ लखेटिरहेको अवस्थामा केही समय भयबाट निस्केर बस्ने साधन हुन् यिनीहरू सबै । कामको बोझले थकित, दुःखकष्ट, रोग, चिन्ता, डर, शंका, भ्रम, त्रास, समस्याबाट अलिकति भएपनि लुक्ने प्रयास हो । यसको छुट्टै प्रयोजन हुँदैन । यसले अलिकति भएपनि जीवनलाई राहत, सहज दिन्छ । भयवादमा "बाँचिन्जेलको जीवन सबैलाई नै यस्तै बनाऊ" भन्ने प्रयास हो । हो हामी जब खेलिरहेका हुन्छौ, नाटक, सिनेमा, खेल हेरिरहेका हुन्छौ त्यसबेला हामीले दुःखकष्ट, चिन्ता, समस्या, भय केही बिर्सने हुन्छौ । गीतसंगीत सुन्दा पनि हामीलाई त्यस्तै हुन्छ । पीर, चिन्ता, समस्या, डर लागेको बेला हामी सिनेमा, संगीत, खेलजस्ता मनोरञीय खेलहरूको सहयोग लिन्छौ । कतिपय यस्ता खेल, मनोरञ्जनहरू शारीरिक अभ्यासको रूपमा आउँछ । यी सबै भयबाट परजस्तो देखिएपनि भयभित्रै छन् । यदि हामीले जीवनलाई मनोरञ्नात्मक रूपबाट लान सक्यौ भने यही नै हो भयवाद ।
फेरि मान्छेलाई निर्भय वा अभय बनाएर लैजाँदा समाजमा अराजकता बढ्न सक्छ किको शंका हुन्छ । निश्चय पनि मान्छेले कानुन, नियम, धर्मसँस्कार मान्न छोडयो भने एक किसिमको अराजकताको संभावना हुन्छ नै । यो शंका यसको नकारात्मक पक्ष हो । यस्ता नकारात्मक पक्ष सबै विचार, व्यवहारसँग हुन्छ । धर्मसँस्कार, रीतिरिवाज, समाज, देश, विभिन्न विचारहरू, आविष्कार, सभ्यता सबैलाई नकारात्मक ढंगबाट सोचिदिने हो भने र नकारात्मक बाटोबाट लाने हो भने निश्चय पनि त्यहाँ नकारात्मक असर पर्दछ । कैयौ देशमा धर्मले नकारात्मक प्रभाव पारेको छ वा धर्मको गलत व्याख्या विश्लेषण भएका छन्, धर्म मात्र होइन राजनीति, प्रजातन्त्र, गणगन्त्र, विज्ञानको आविष्कार गलत प्रयोगले विश्वलाई नै गलत बाटोबाट डोर्‍याइरहेको छ । हो डोर्‍याउने र प्रयोग ठीक मार्गबाट गर्‍यो भने समाज, देश र व्यक्ति ठीक मार्गबाट हिँड्छ । कुनै एउटा मान्छे सरासर हिँडिरहेको छ । ऊ क्षणिक भएपनि निर्भय हिँडिरहेको हुन्छ । बाटोमा र्सप देख्यो वा डोरीलाई र्सप देख्यो भने उसका गतिविधि, सोचाइ, सबै प्रभावित हुन्छ र ऊ हिँडेको उदेश्यमा नपुग्न पनि सक्छ । त्यसैले भयवादको प्रयोग, व्यवहार, अनुशासन ठीक मार्गबाट भयो भने समाज, देश, विश्व सही मार्गबाट अगाडि बढ्ने छ । कसैलाई दीर्घकालिन लाभ प्राप्त होला कसैलाई अल्प कालिन । यसले सबैलाई लाभ नै हुन्छ । कसैलाई यसले हानी गर्दैन ।

भयको प्रयोग
भयवाद चिन्तनहरूमा नवीन चिन्तन हो । यसको प्रयोग कला, साहित्य, सँगीतमा हुनुपर्दछ । कला, साहित्य, संगीत जीवन र जगतको बारेमा गरिन्छ । साहित्यमा भयलाई खेलाएर हेर्नु पर्छ किनभने यो प्रत्येक जीवनमा छायाँ जस्तो सँगै आइरहेको हुन्छ । भयलाई विभिन्न विषयमा प्रस्टयाउन सकेको खण्डमा भयको मात्रा आफै कम हुदै जान्छ । नेपाली साहित्यमा अद्भौतिकता, आदर्शवाद, स्वच्न्दतावाद, यथार्थवाद, ऐतिहासिकता, प्रगतिशिलता, आञ्चलितकता, फ्राइटवाद, विसँगतिवाद, मार्क्सवाद, अस्तित्ववाद सम्मको साहित्य लेखिएको छ । उत्तर आधुनिकताको भूमरीमा जनजातिय र भयवादीय पनि साहित्यको माध्यम हुन सक्ने प्रबल संभावना बोकेर आइरहेको छ । त्यसो त प्रत्येक साहित्य भय पृथक हुनै सक्दैन, यो समालोचकीय, लेखकीय भएर आएको छैन । यसले जति नजिकबाट जीवनलाई लिएर हिँड्छ, त्यति नजिकबाट अरु कसैले लान सक्दैन । तर पनि छुट्टै भयको दर्शन, साहित्य, संगीत केही पनि लेखिएको छैन । भय साहित्य श्रृंखला बद्ध प्रकटको लेखाइ पनि हो । प्रकट सुक्ष्म समयमा फरक हुन्छ र भय साहित्य जीवन सापेक्षको लेखाइ पनि हो । यसले जीवनलाई कोपिलामय अथवा शिशुमय बनाउन हरसंभव प्रयास गर्दछ । एडस जस्तो संक्रामक रोग लागेको मान्छेबाट त्रसित भएर भाग्नु मानवताले भन्दैन, मानवताले त उसलाई जति सकिन्छ सान्त्वना दिनु र सहयोग गर्नु भन्छ । उसलाई अत्याउँदै लाने हो भने त ऊ आत्तिन्छ, कहालिन्छ र अराजक हुन सक्छ । उसलाई सौम्य रहन मदत गर्नुपर्छ, भय चिन्तन पनि भयभीत हुने मान्छेहरूलाई सौम्य राख्न मदत गर्ने चिन्तन हो । यो कालो रंगलाई सेतो बनाउने सोच हो । परमाणु भित्र इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ । इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनभित्र क्लार्क हुन्छ । भय परमाणु भित्रको क्लार्क जस्तै जीवन र जगतको क्लार्क चिन्तन पनि हो ।

No comments: