Sunday, June 1, 2008

विश्व दर्शनमा भयवाद


पूर्वेली र पश्चिमी दर्शनले जीवनको बारेमा अनेकन मार्गहरू देखाएका छन् । पूर्वीय दर्शन खास गरी अध्यात्मको नजिक छ । पश्चिमी दर्शन बढी भौतिकवादी छ । यी दर्शनहरूले भयलाई देखेका छन्, तर देखाएका छैनन । जुनसुकै घुमौरो बाटोबाट जीवनलाई अगाडि बढाए पनि मुख्य बाटो भयवादीय बाटो नै हो । भयबाट छलिन दर्शनहरू विभिन्न रूपमा अवतरित भएका छन् । अस्तित्ववाद, भौतिकवाद, विसँगति, विनिर्माणवाद, शून्यवाद, हिन्दूवाद, जैन, कन्फुसियस, तायो सबै भयलाई परिक्रममा गर्ने ध्रुवीय वादहरू हुन् ।
शून्यवाद, विनिर्माणवाद, भौतिकवादमा जीवनलाई गौण गरिएको छ । तर वास्तवमा सारा जगत नै जीवनमा सापेक्षित छ र वादहरू भयवादमा । यस अवस्थामा भयलाई गौण गरेर जीवनलाई व्याख्या गर्दा अपुरो व्याख्या हुन जाला । जहाँ सम्म शून्यवाद र विनिर्माणवादको कुरा छ, उनीहरू सबै कुरा सापेक्षित र एक अर्कामा आश्रति अस्तित्व मात्र सम्भव देख्छन् । आफ्नो स्वतन्त्र अस्तित्व नभएका तर एक अर्कासँगका सम्बन्धमा मात्रै अस्तित्व रहने भएकोले सबै धर्म शून्य देख्छन् । यो उनीहरू बीचको समानता हो । डेरिडाका लागि अर्थ, संकेतहरूले अर्कामा आधारित भएर मात्र अर्थ दिन सक्छ । एउटा वस्तु अर्कोबाट फरक भएकोले संकेतको अर्थ लाग्छ । नागार्जुनको विचारमा शून्यता धारणा होइन, माध्यम मात्र हो । जसले शून्यतालाई धारण गर्दछ, उसले केही प्राप्त गर्दैन । शून्यवाद र विनिर्माणवाद शब्दहरूमा फरक छन् । एउटाले जीवन र जगत शून्यताको माध्यमबाट अगाडि बढिरहेको विचार राख्दछ, भने अर्कोले वस्तु, अर्थ र संकेतको फरकको कारणले जीवन र जगत अगाडि बढेको विचार राख्दछ । त्यस्तै सबैका आ-आफ्नै शक्तिशाली तर्क होलान् । तर भयवादीय दृष्टिकोणमा नयाँ आयाम छ । जीवन श्रृंखलाबद्ध प्रकट (Enlightment) हरूको विशाल पुञ्ज हो । यसैमा जगत निर्भर गर्दछ । जीवनको निर्देशक चेतना भएकोले यो श्रृंखलाबद्ध चेतनाहरूको प्राप्ति पनि हो । बीऊबाट बिरुवा अंकुरित हुनु, जमिनबाट बाहिर निस्किनु, पात लाग्नु, कोपिला लाग्नु, फूल फुल्नु, फल लाग्नु प्रत्येक नयाँ प्रकटहरू हुन् । गर्भ रहनु, बढनु, जन्मनु, बिहे गर्नु, सन्तान पैदा गर्नु, सबै प्रकटहरू हुन् । समयको सुक्ष्म खण्डमा प्रकट फरक हुन्छ । भन्नुको तार्त्पर्य बिरुवाले कोपिलाको अवस्थासम्म आइपुग्न धेरै संघर्ष गर्दछ । प्रत्येक प्रकटमा संघर्ष हुन्छ । संघर्ष पार गरेपछि ऊ नयाँ स्थानमा पदार्पण गर्दछ । नयाँ समय र स्थानमा पदार्पण गर्न ठूलो संघर्षपछि विजेताहरू मात्र सफल हुन्छन्, पराजयीहरू बीचैमा तुहिन्छन् । जीवनलाई पनि प्रारम्भदेखि नै धेरै पत्रहरूले छोपेको हुन्छ । यी वाधक तत्वहरूसित संघर्ष गर्दै जीवन फुल्दछ । यसरी फूल फुल्नु भयवादीयता हो ।
भयवाद नामबाट विश्वमा कुनै पनि दर्शनको प्रार्दुभाव भएको छैन । भयवादबाट बोधअबोध भएकाहरूले अस्तित्ववाद, शून्यवाद, अध्यात्मकवाद, मार्क्सवाद लगायतका विभिन्न दर्शनहरू जन्माए र जीवनसँग समानान्तर बनाएर हिँडाए । यी वादहरू आफैमा पूर्ण यसकारण छैनन् । यी मात्र होइन सबै वाद आफैमा पूर्ण हुँदैनन् । कसरी दुःखबाट मुक्त हुने, कसरी स्वतन्त्र अस्तित्व कायम गर्ने, आध्यात्मिक मार्गले कसरी मानवीय जीवनलाई सरल बनाउने, लगायत नीतिका कुराहरू, अनुशासनका कुराहरू नै खास गरी दर्शन र आध्यात्मिक चिन्तनमा बढी देखा प-यो । मानवीय शान्तिको कुरा गर्ने दर्शनहरूले जोडदारसँग युद्ध निम्त्याए र अन्तोतगत्वा विश्व नै युद्धमय बनाए । एउटाले आफूलाई राम्रो र अरुहरू नराम्रो भन्ने विचार अगाडि आयो । जब म र मेरो उदायो यो सँगै आन्तरिक रूपमा र बाहृय रूपमा द्वन्द शुरु भयो । मार्क्सवाद पनि वर्गिय द्वन्द भन्दा पर रहन सकेन । तर यी सबै विचारहरू भयमा अडेको कसैले बोध गरेनन् ।
भय सम्बन्धीका धेरै विचार, साहित्य आएका छन् वा भय जताततै प्रकट भएको हुन्छ । बोधको रूपमा र अबोधको रूपमा । बोधको रूपमा मात्र रहँदा अराजकताको अवस्था रहन्छ । युद्ध हिंसा, हत्या, शंका, भ्रम, रूढिवादी, अन्धविस्वास जस्ता विषयहरूको पछाडि भय बोध वा अबोधको रूपमा उपस्थित छ । यसलाई वादको रूपमा लैजान्दा युद्ध, हिंसा, हत्या, शंका, भ्रम सबैमा कमी आउन सक्छ ।
जातिय, भाषिक, साँस्कृतिक अस्तित्व खोज्नु भनेको पनि एक अर्थमा भय हो । शाक्य मुनिले दरबार त्यागेर शान्ति खोज्नु पनि एक अर्थमा अबोध भय हो । भय यहाँसम्म व्याप्त छ कि दैनिक जीवनमा हामीले काम गरिरहेका, कमाइरहेका, पढिरहेका, लेखिरहेका प्रत्येक कदमहरू भयमय छन् । भयबाट निस्किन नै हामी भय टेकेर हिँडिरहेका छौँ । फरक यहाँ छ हामीले भयबोध गरेर वाद गरिरहेका छौं । वाद गर्दा निश्चित पनि जीवनमा सानो परिवर्तनदेखि ठूला परिवर्तनसम्म हुन सक्दछ ।

अस्तित्ववादः
"परम सत्य कहीँ छ भने, त्यसलाई आत्माले मात्र बोध गर्न सकिन्छ" भन्ने हेगेलको भनाइलाई सात्रेले "कही परम सत्य छ भने त्यहाँ पहिला अस्तित्व हुन्छ ।" भनेर काटिदिए र आफ्नो विचारलाई स्थापित गरे । परम सत्यको कुरा उठनासाथ त्यसको केन्द्र र परिधि के हुन् ? परम सत्य कतिन्जेलसम्म अडन सक्छ भन्ने प्रश्न बन्न सक्छ । वास्तवमा परम सत्य नै हुँदैन । प्रत्येक परम सत्य मानिएका मान्यताहरूको केन्द्र र परिधिको अवधि नै हुँदैन । परम सत्य, अस्तित्व, निश्चितता यी सबै वास्तवमा एक किसिमको अस्थायी शिविर हुन् । हामीलाई लाग्छ जीवन एउटा स्थिर सत्य हो, वास्तवमा यो एउटा अस्थायी शिविर मात्र हो । यस्ता धेरै शिविरहरू हुन्छन् । भ्रम, लीला, वृथा, खेलजस्ता शब्दले बनेका छन् । तर यी सबै भयका विश्व रूप हुन् । जब कुनै वस्तु निश्चित, स्थिर, सत्य हुदैन, त्यहाँ निश्चित अस्तित्व हुने कुरै आउँदैन । फेरि यी शब्दहरू जैविक शब्दहरू होइनन्, यी शब्दहरूको धड्कन हुँदैन, धडकन र जीवन भएको शब्द भय नै हो । यो अति संवेदनशील छ । समय मानिदिने हो भने समयको सानो खण्ड अगाडि देखिएको सत्य (अस्तित्व) र सानो खण्ड पछाडि देखिएको त्यही सत्य (अस्तित्व) फरक हुन् । त्यसो भने कसको निश्चित अस्तित्व छ ? यिनीहरू त शून्यता, भिन्नता र प्रकटहरू मात्र हुन । शून्यता, भिन्नता र प्रकट श्रृंखलाबद्ध प्रकटका माध्यमहरू हुन । भयवादले निश्चित आकार र रूप कसैको समाएर बस्दैन । यदि कसैको अस्तित्व स्थिर छैन भने भयवाद के हो ? प्रश्न बन्छ । भयवादमा दुइटा रेखाहरू हुन्छन् श्रृंखलाबद्ध प्रकटको रेखा र सहजका रेखा । एकातिरबाट श्रृंखलाबद्ध रूपमा प्रकट हुँदै जान्छ र अर्को तर्फसहजताले त्यस प्रकटलाई डोउँदै लान्छ । जीवनमा यो रेखा अनन्त हुन्छन् । ढुङगाको चेपबाट निस्किन्दा बिरुवाले अस्तित्वको लागि निस्केको भन्न नमिल्ला । ऊ बाँच्न चाहान्छ । बाँच्न चाहानुलाई अस्तित्व भनिएको हो भने बाँच्नु र अस्तित्व पर्यायवाची हुन सक्छन् । बाँच्नेको चेतना जब हुर्किन्दै जान्छ, त्यो सँगै भयका मात्रा बढ्दै जान्छ । जीवन र मृत्यु बीचमा अस्तित्व कहाँ छ भनेर हेर्नु पर्ने हुन्छ । हो अस्तित्ववादीहरू बाँच्नु पनि अस्तित्व हो र मृत्यु पनि अस्तित्व हो भन्छन् भने अस्तित्व भन्ने शब्द भय हो भन्दा फरक नपर्ला । जब अस्तित्व छ भनेर सोचिन्छ, भयवादको यौद्धिक अनुसार त्यहाँ अस्तित्वले भयको धरातल टेकेको हुन्छ ।

No comments: