Sunday, June 1, 2008

भयको अवस्था


चित्र नं. १२ को चित्र नं. १ मा एकतिर भय रेखा र अर्कोतिर चेतना रेखा देखाइएको छ । चेतना रेखा सुषुप्त, सुप्त र जागृतको संयोजनबाट खिचिएको छ भने भय रेखामा चिन्ता, समस्या, अस्तित्व, अहम्, शंका, भ्रमजस्ता थुप्रै विषयहरू मिलेर बनेको छ । यी दुइ रेखाहरू जहाँ मिलेका छन् त्यो पूर्ण चेतनाको अवस्था हो र पूर्ण जीवनको अवस्था हो । जीवन र जगतलाई यही बिन्दूबाट हेर्ने गरिन्छ । भय रेखालाई तल झार्दै चित्र नं. २ मा प्रकटहरू देखाइएको छ । मान्छेको चेतना र ज्ञानको अवस्था अनुसार भयको आकार बन्दछ । एउटै विषय वस्तुमा कसैलाई बढी र कसैलाई कम भय हुन्छ । सबैलाई समान भय हुनुपर्छ भन्ने छैन । भिन्न भिन्न मान्छेको भिन्नभिन्न विषयमा भय हुने गर्दछ । उदाहरणको लागि कसैलाई भूतको कुराले बढी भयभीत बनाउँछ भने कसैलाई बनाउँदैन ।
चेतनाको उदेश्यलाई प्रत्येक सुक्ष्म चेतनामा नबाँडी सजिलोको लागि तीन अवस्थामा बाँडिएको छ । सुषुप्त, सुप्त र जागृत जति जति चेतनाको मात्रा बढ्दै जान्छ उति नै ज्ञान र भयको मात्र बढदै जान्छ । सुक्ष्म चेतनाबाट शुरु भएको भयमा समस्या, चिन्ता, डर, शंका, भ्रम जति बढ्दै जान्छ, उति भय बाक्लिन्दै जान्छ । जून बिन्दूमा गएर चेतना, ज्ञान र भयको मिलन हुन्छ, त्यो नै पूर्ण चेतना र पूर्ण भयको अवस्था हो । चेतना र भयको बीचमा जहिलेपनि चेत/ज्ञान रहेको हुन्छ । चेतनाले समस्याको बारेमा चेत गराउँछ र चेतले भयलाई ग्रहण गर्दछ । जीवन र जगतलाई यसै अवस्थाबाट हेरिन्छ । यही धरातलमा जीवन अडेको हुन्छ । जब चेतना पूर्ण अवस्थाबाट तल ओर्लिन्छ, उति नै भय कम हुन्छ र सोच्दै नसोचेको साहसिक कार्य सम्पन्न हुन्छ । जानीजानी गर्न नसकिने काम अन्जानमा हुन जान्छ । कतिपय दुर्घटना अन्जानमा हुन्छ । केटाकेटीले जतासुकै चढने, उफ्रीने र हाम्फाल्ने युद्धमा सर्वोच्च पदक पाउने, आन्दोलनमा छानाबाट हामफाल्ने सबै यसका उदाहरण हुन् । चित्रमा देखाएको जस्तै भयलाई तल झार्नु नै भयवाद हो ।
चेतनाका अवस्था अनुसार प्राणी र वनस्पतिले आफ्नो सुरक्षा गर्छन् । जमिन, बालुवा, ढुङगाको चेपबाट बिरुवाको टुसा निस्किनु र घाम, पानी हावाबाट सक्दो आफूलाई बचाएर लानु चेतनाको कारणले उत्पन्न भएको भय हो । यस कोणबाट हेर्दा सभ्यता र विकासको प्रत्येक आधारशीला भय हो । ढुङ्गाको हतियार बनाउन जान्नु, आगो बाल्न जान्नु, खानेकुरा पकाएर खानु जान्नु, खेतीपाती गर्नु जान्नु, घर बनाएर बस्नु आदि इत्यादि । एक अवस्थाबाट अर्को अवस्थामा पुग्न कुनै पनि वस्तुले ठूलो संघर्ष गरेको हुन्छ । बाटोमा आइपर्ने अनगिन्ती वाधाहरूसँग संघर्ष गरेको हुन्छ । फेरि त्यो अवस्थामा पुगेपछि अर्को नयाँ अवस्थाको विकास भैसकेको हुन्छ र यात्रा प्रारम्भ भइहाल्छ । ढुङगाको चेपभित्र उम्रेको बिरुवाले ढुङगाबाट निस्कन ठूलो संघर्षगर्दछ । ढुङगाको चेपबाट बाहिर निस्केपछि प्रत्येक सुक्ष्म विकासमा निरन्तर संघर्ष गरिरहेकै हुन्छ । फूल फुल्नलाई तीव्र गतिमा दौडिन्छ यो अर्को अवस्था हो । एक अवस्थाबाट अर्को अवस्थामा पुग्नु भनेको प्रत्येक अवस्थाहरू कोपिलाबाट फूल बन्नु हो । मान्छेको जीवनमा पनि प्रत्येक विपलमा नयाँ प्रकट भैरहेको हुन्छ । प्रत्येक प्रकट आँखाले देख्न नसकिने हुन्छ र एककृत रूपमा मात्र त्यसलाई देखिन्छ । मान्छे प्रत्येक सेकेण्डमा बूढो भैरहेको हुन्छ । तर त्यसलाई देखिन्दैन जब आँखाले देख्ने गरी उसमा परिवर्तन आउँछ, त्यसलाई मात्र देखिन्छ । यी सबै प्रकटबाट संभव भएका छन् ।

No comments: