Sunday, June 1, 2008

भय मुख्य गरी छ प्रकारको हुन्छ ।


१ जीजिविषा भयः
जन्म र मृत्युको दूरी बीच वा संभावित घटना र घटना बीच सधैं भय बाँचिरहेको हुन्छ । जीवनभरि नै मान्छेहरू भयभीत भएर बाँचेका हुन्छन् । मान्छेको उठेदेखि सुतिन्जेलसम्मका प्रत्येक पल भयभीत भएर बितेको हुन्छ । यी सबै बाँच्ने अभिलाषाले प्रभाव पारेका भय हुन् । जीवन सुखमय बाँच्नको निमित्त मान्छेहरूले जालझेल, हिंसा, अन्याय अत्याचारचोरी डकैती सबै गर्छन् । सामाजिक प्रतिष्ठा पनि जीवन बाँच्ने एउटा आधार हो । बाँच्न कै लागि मान्छेहरू चौबिसै घण्टा व्यावशाय, नोकरी, खेतीपातीमा कुदिरहेका हुन्छन् । जीवन र मृत्यु बीचको अँध्यारोलाई उज्यालो बनाउन मान्छे जीवनभर दुःख गर्छ । यहाँ सम्म कि सम्राट, साधु, सन्त, महात्मा, दार्शनिक सबै बाँच्न कै लागि विविध रूपमा प्रकट भैरहेका हुन्छन् । चेतना भइन्जेल, जीवित रहिन्जेल जुनसुकै रूपका प्राणी भए पनि भयभीत नै भैरहेको हुन्छ । बाँचौ भन्ने खेल भयबाट छुटकारा पाउने खेल हो । दार्शनिक र धार्मिक व्यक्तिहरूले जीवनलाई सुखमय बनाउन अनेकौं धर्म र दर्शन दिएका छन् । ती धर्म र दर्शनले मान्छेको जीवनलाई सुखमय, सबल र सहज बनाउन आएको भएतापनि झन् भयभीत बनाइदिएका छन् । केही समयलाई भय कम भएपनि मूल रूपमा झनै भयभीत भैरहेको हुन्छ । उदाहरणको लागि कुनै मान्छेले ध्यान, पूजा गर्दा केही समयलाई दुःख, समस्या भुलेको जस्तो भ्रम होला तर उसको ध्यानै भयमा डुबिरहेको हुन्छ ।

२ परलोकगमन भयः
यो जीवनको उत्तार्ध रूप हो । अनायसै मृत्युको चिन्ताले मान्छेहरूलाई खाइदिन्छ । उत्तार्धका दिनहरू आनन्दित होस भन्ने सोच जन्मिन्छ । यसै तहमा मरेपछि के हुने भन्ने बढी ध्यान पैदा हुन थाल्छ । मृत्युको कल्पनाले मात्र पनि कमजोर हृदय भएका मान्छेहरूको मुटु कमाइदिन्छ । सामान्य अवस्थामा यस्तो सोच त्यति धेरै आउँदैन, तर दुर्घटनाको अवस्थामा, संक्रामक रोगको शिकार भएका, मृत्यु शैयामा लडिरहेका वृद्धको दिमागले मृत्यु नजिक आइरहेको मात्र देख्छ र ऊ सामान्य अवस्थामा भन्दा बढी भयभीत हुन्छ । एड्स, सार्स, क्यान्सर रोग र आगो लागिरहेको घर, आगो लागिरहेको जहाजमा यसको प्रकोप बढी देखिन्छ । यस्तो अवस्थामा आफ्नो बढी चिन्ता लाग्छ र परिवार, आफन्तको लाग्छ । अपवादको रूपमा केही मान्छेहरूले स्थितिलाई सहज रूपमा पनि लिन सक्छन्, तर सबैले सहज रूपमा लिनको बदला झन् झन् असहज बनाइदिन्छ र समय अगावै घटना घटन सक्दछ । भयको उच्चतम बिन्दूबाट प्राय जसो भय तल ओर्लिन्छ । संक्रामक रोग लागेको मान्छे, मृत्यु दण्ड पाएको मान्छेलाई जति भय हुनुपर्ने हो जानकारी पाउने बित्तिकै हुन्छ र बिस्तारै आफूलाई घटनासँग समर्पित गर्दै लान थाल्छ ।

३ लोकीय भयः
अहिले सम्म कसैले यकिन साथ भन्न सकेका छैनन् मृत्युपछि के हुन्छ । मान्छेहरूमा रुढिवादी र धार्मिक अड्कल छ, मान्छे मरेपछि कि स्वर्ग गइन्छ कि नरक । नरकको बारेमा फैलाएको भ्रमले पनि मान्छेहरूमा नरकप्रति भय उत्पन्न हुन्छ र उनीहरू सबै र्स्वर्ग जाने कल्पना गर्छन् । यी विभिन्न अडकलहरूको पछि लागेर मान्छेहरू भयभीत हुन्छन् । वास्तवमा मरेपछि कहाँ गइन्छ, मान्छेलाई कस्तो हुन्छ, कस्तो दर्दपीडा हुन्छ मान्छेलाई जिज्ञासा भइरहन्छ । यो प्रश्नले सबै जसो मान्छेको दिमागमा घर बनाएर बसेको हुन्छ । दार्शनिक सुकरातले मृत्युको अनुभव गरेर फर्केको भय सबैलाई थाहा हुन्थ्यो मृत्युपछि के हुन्छ । मृत्यु पछिको जुन भय मान्छेहरूमा खेलिरहन्छ, त्यो नै मृत्युपछिको भय हो । मान्छेको जीवनको उत्तारांशमा लोकी सोच बढी खेल्न थाल्छ । मान्छेहरूको ठूलो संख्या मृत्युपछि "र्स्वर्ग जान पाउँ नरक जान नपरोस" भनेर अनेकौं कामना गर्छन् । खास गरी आस्तिक मान्छेहरू यस समूहमा पर्छन् र परिणाम स्वरूप जीवित छँदै मृत्युपछि दुःख, यातना खप्न नपरोस भन्ने चाहाना व्यक्त गर्छन् । थाहा पाएर होस या नपाएर होस उनीहरू यस विचारबाट प्रभावित भएका हुन्छन् । सुख, शान्ति र समृद्धिको कामनासँगै लोकीय भय पनि आइरहेकै हुन्छ । यसले मान्छेलाई केही समयलाई राहत दिएपनि बढी मात्र भय नै दिइरहेको हुन्छ ।

४ सम्बन्ध भयः
जब म भन्ने शब्दको उत्पत्ति हुन्छ, त्यहीबाट भयको प्रारम्भ हुन्छ । म भन्नासाथ तिमी आउँछ । म र तिमी बीचमा जहिले पनि युद्ध हुन्छ र एकले अर्कोलाई परास्त गर्ने प्रयास गर्छ । युद्ध, हत्या, हिंसाको प्रमुख कारण यो पनि हो । मको पछाडि जात, धर्म, सँस्कार, सुखदुःख, नाता, कुटुम्ब सबै आउँछन् । यिनीहरूलाई भयको स्रोतको रूपमा लिन सकिन्छ । आफ्नोपनको माया मोहले मान्छेहरू जहिले पनि भयभीत भैरहेका हुन्छन् । काला, गोरा, नाजी, यहुदी, मुस्लिम, क्रिस्चियन, बाहुनवाद, हिन्दू, बुद्ध, आदिवासी सबै यसैको परिणति हुन् । युद्धहरू जहिले पनि यसै उद्गम बिन्दूबाट निस्केका छन् । मेरो परिवार, आफन्त सबै यसैमा पर्न आउँछन् । अमेरिका-भियतनाम युद्ध, इराक-अमेरिका युद्ध, अफगानिस्तानको गृह युद्ध, इजराइल प्यालेष्टानी युद्ध, मार्क्सवाद, सबै सम्बन्ध भय हुन् । वर्तमान विश्वमा देखा परिरहेको अशान्तिको मूल कारण सम्बन्ध भय हो । म र मेरो बचाउने युद्ध हुन् । सम्बन्धका साइनोलाई न्युन गर्ने हो भने लडाइ, झैंझगडाको संभावना नै कम हुन्छ । तर मानवीय स्वभाव नै हो म, मेरो । यो स्वभावलाई सजिलै मान्छेले परास्त गर्न सक्दैन । मान्छे सामाजिक प्राणी हो, मान्छे मात्र होइन पशुलाई पनि आफ्नो समूह चाहिन्छ । जब सम्म म भन्ने भावना बाँचिरहन्छ, तबसम्म भय बाँचिरहन्छ । यसलाई न्युन गरेर भयको मात्रा घटाउने कुरा एउटा आदर्श हो । सम्बन्धबाट उत्पन्न हुने भयलाई केही हदसम्म कम गर्न सकिन्छ जस्तो कि बढी व्यक्तिवादी, बढी जातिवादी, बढी धर्मवादी जस्ता कुरामा केही कम गर्नाले भय अवश्य नै कम हुन्छ । यसले हिंसा, हत्या, युद्ध, आतङ्क कम गर्न मद्दत गर्दछ । यो जातिवादी, धर्मवादीको कारणले भैरहेको छ । अतिवादीपन कम गर्दा भयबाट धेरै नभएपनि केही सहज हुन सक्दछ । एउटा धर्मावलम्बी, जातिले अर्को जाति, धर्मावलम्बीलाई आक्रमण, हत्या, हिंसा गरिरहेका छन् । आफैभित्र पनि विभिन्न गुटउपगुट बनेर यस्तो समस्या उब्जाइरहेका छन् । फलस्वरूप विश्व नै आतङ्कीत, भयभीत बनिरहेको छ । सम्बन्ध वा म र मेरोको भावना कम हुनासाथ हत्या, हिंसा, आतङ्क, आक्रमण कम हुन जान्छ ।

५. कृत्रिम भयः
वास्तविक वस्तु, समस्यासित टाढा रहेर हुने भय कुत्रिम भय हो । रुढिवादी, अन्धविस्वासजस्ता सँस्कारले मान्छेलाई भयभीत बनाउँछ । जस्तै बिरालोले बाटो काट्दा अनर्थ हुने, दाँत झरेको सपना देख्दा कसैको मृत्यु हुने, स्याल, कुकुर रोयो भने अशुभ हुने जस्ता अन्धविस्वास, रुढि कुराले पनि भय पैदा गर्दछ । कतिपय भ्रमहरूले पनि मान्छेलाई भयभीत बनाइरहेको हुन्छ । डोरीलाई सर्प देखेर हामी जसरी डराउँछौ त्यस्ता डोरी हाम्रो समाज, सँस्कारमा छ । त्यो वास्तविक हुँदैन र त्यो डोरी हो भनेर थाहा पनि पाउँदैनौ । त्यो हामीलाई र्सप नै लाग्छ । जतिबेलासम्म र्सप लागिरहन्छ त्यतिबेलासम्म डराइरहन्छौ । यो डोरी हामीलाई र्सप जीवनभरि नै पनि लाग्न सक्छ । तर जुनदिन हामी डोरी हो भन्ने थाहा पाउँछौ हामी डरबाट निस्किन्छौ । यस्तो डोरीसर्प हाम्रो चारैतिर छ । जस्तो रोग लागेको जस्तो महसुस हुनु, सत्रुले पछयाइरहेको जस्तो हुनु, घरसम्पत्ति नाश भएकोजस्तो लाग्नु, बाटोमा हिँड्दाहिँड्दै घरमा कसैलाई केही भयो कि हुनु कृत्रिम भय हुन् । यस्ता भय यतिधेरै छन् कि जतापनि महसुस गर्न सकिन्छ । यिनीहरू वास्तविक कुरा होइनन् र घटना पनि होइनन् । तर यसले त्यसैत्यसै भय दिइरहन्छ र हामी भयभीत भइरहन्छौ । यसलाई केही पनि होइन, यसबाट हामीले डर मान्नु हुँदैन भन्ने विस्वास जगाउन सके हाम्रो भय निकै घटन सक्छ ।
यसै भयमा शंका, भ्रम भय पनि आउँदछ । शंका र भ्रम भयमा केही फरक छ । रूखको ठूटालाई भूत देख्नु भ्रम हो । त्यही रूखको ठूटालाई भूत पो हो कि भनेर हेर्नु शंका हो । घरैमा श्रीमान वा श्रीमति, कोही मान्छेसित देख्नु भ्रम हो । कसैसित लागेको छ कि भनेर विचार गर्नु शंका गर्नु हो । डोरीलाई र्सप देख्नु भ्रम हो भने डोरीलाई र्सप हो किन भनेर नियालेर हेर्नु शंका गर्नु हो । यस्ता शंका र भ्रमको कारणले धेरै किसिमको भय पैदा गर्दछ । भय निराकरण गर्ने सर्न्दर्भमा विभिन्न घटना घटने गर्दछ । शंकाको कारणले पनि हामी धेरै घटन घटेको पाउँछौ र आफैपनि खिइन्दै गएको पाउँछौ । शंकाको कारणले युद्ध, हत्या, आत्महत्या, आमहत्या हुने गर्दछ । शंका हेर्दा र सुन्दा सामान्य जस्तो लागेपनि योभित्र ठूलो भय लुकेको हुन्छ । शंका आफैमा सुरुङ हो जति खोतल्यो, त्यति भय निस्किन्छ । शंका कम हुनासाथ धेरै हत्या, हिँसा, अराजकता कम हुन जान्छ । जसरी एउटै समस्या, चिन्ता, दुःख, रोग, मृत्यु, सम्पत्ति, भोक म एकै प्रकारको भ्रम हुँदैन, त्यसरी नै शंकामा पनि एकै किसिमको भय हुँदैन । भयका स्रोतहरू जति छन् ती सबै विषयमा एकै सिद्धान्त मात्र लागू हुने होइन, एउटै विषयमा विभिन्न सिद्धान्त, बुझाइ, चेतना लागेझैँ भय पनि विभिन्न हुने गर्दछ । कुनै शंकामा न्युन भय होला, कुनै शंकामा अधिक । तर भय हुन्छ नै । त्यस्तै हो, समस्या, चिन्ता, दुःख, रोग, मृत्यु, शत्रु आदिइत्यादि ।

६. बोधअबोध भय
सरसर्ती हेर्दा भय बोध सबैलाई भएको जस्तो हुन्छ । यही भय बोधको कारणले विचार, सिद्धान्त जन्मेको, विज्ञानका नयाँ नयाँ आविष्कार भएको लाग्न सक्छ । भयबोध भएमा कतिपय मान्छेले मान्छेलाई मार्ने, काटने, युद्ध, हिंसा गर्दैनथे होलान् । भय अबोधको कारणले कतिपय घटना, दुर्घटना भैरहेका हुन्छन् । मान्छेमा भयबोध भन्दा अबोध बढी हुन्छ, शंकामा भयबोधभन्दा अबोध बढी हुन्छ । यस्तै रितले भयबोध भएको भए सिद्धान्त, विचार, आविष्कार, धर्म, सँस्कृति, समाज यस ढंगबाट अगाडि बढ्ने थिएनन् । भय अबोधको कारणले समाज, संसारको रूप आजको अवस्थामा आइपुगेको छ । कतिपय विचारहरू नै अबोधको कारणले लेखिएको छ । त्यसैले भयबोध र वादमा प्रवेश गर्दा मान्छेमा कस्तो किसिमको रूप अवतरण हुन्छ । यही भयवाद हो । कुनै मान्छे काममा जान्छ, गीत गाउँछ, साहित्य लेख्छ, राजनीति गर्छ । उसलाई भयबोध भएको हुँदैन । एउटा सामाजिक प्रणाली अर्न्तर्गत नै तमाम कुरा भैरहेको हुन्छ । ऊ यो पनि जान्दैन कि यसको पछाडि भय छ । यस्ता कतिपय कामहरू भय अबोधको कारणले पनि भैरहेका छन् । जब भयवादले यी सबै काम भयबाट निर्देशित छ भनेपछि उसलाई बोध हुन जान्छ । त्यसकारण कतिपय भय अबोध भय हुन्छ र कतिपय बोध भय ।

No comments: