Sunday, June 1, 2008

तेस्रो आयामले अघि सारेका मान्यताहरू


चित्र नं. २१ मा इनारको लम्बाइ, चौडाइ र गहिराइ छ । यसको भौतिक आकारलाई भित्र र बाहिरबाट अभौतिक वस्तुले ढाकेको छ । खास गरी इनारको कुरा गर्दा इनार भित्रको अँध्यारो भागको कहिले हिसाब राख्दैनौं । के अँध्यारो भागको उपस्थिति बिना इनारको भौतिक उपस्थिति संभव छ । निश्चय पनि छैन । लम्बाइ, चौडाइ र गहिराइको जति भूमिका हुन्छ त्यो भन्दा ठूलो भूमिका अवश्य पनि अँध्यारो भागको नहोला भन्न सकिन्न । निश्चय पनि अँध्यारो भागबिना आयाम अधुरो हुन्छ । जीवन र जगतका पनि यस्ता छायाँहरू छन् । त्यो जुनसुकै टाइम र स्पेशमा पुगेको किन नहोस, त्यो छायाँ साथैमा हुन्छ ।
मानवीय जीवनलाई यसरी नै चारैतिरबाट चेतनाका घेराहरूले घेरिदिएको हुन्छ । जब हामी कला, साहित्य, भाषा, लिपिको कुरा गछौं, यसको अँध्यारो भागलाई बिर्सन सक्छौं । भय इनारको कालो भागजस्तै चारैतिरबाट जीवनलाई घेर्ने अभौतिक सचेतकीय वस्तु हो । तेस्रो आयाम यसको व्याख्यामा सम्पूर्ण नभएको प्रतित हुन्छ । यहाँ वस्तुलाई प्रभाव पार्ने बाहिरी तत्वलाई पूर्ण रूपमा वेवास्ता गरिएको छ तेस्रो आयाममा । जब कि वस्तुको बाँच्ने आधार भनेको त हावा, पानी, घाम हो । बाहिरी तत्वसित जीवित प्राणी सधैँ भयभीत भैरहेको हुन्छ । यी तत्व नै एक प्रकारको अन्धकार हो । यो कति गहिरो छ र गहिराइ भित्र पनि सम्पूर्णताको परिभाषा हालियो, तर त्यस गहिराइमा के के छ भन्ने देखिएन । गहिराइ भित्र अन्धकार हुन्छ भन्ने कुरालाई पूर्ण रूपमा वेवास्ता गरियो । अन्धकारलाई वेवास्ता गरेर गहिराइ भित्र प्रवेश गर्दा कहाँसम्म पस्न सकिन्छ ?
यो संभव छैन । अन्धकार भनेको नै जीवनमा भय हो । तेस्रो आयामको गहिराइमा थुप्रै खजाना भेट्टाए । भयवादीय खजानाको झन् टडकारो उपस्थिति मान्न सकिन्छ । एकातिर अस्तित्व भत्किसकेको छ कुनै पनि वस्तुको । यसरी कुनै पनि वस्तुको केन्द्र, परिधि र आयतन निश्चित हुँदैन भन्ने मान्यता अघि सरेपछि आयामका स्थायी मान्यताहरू पनि हुने कुरै भएनन् । तेस्रो आयामले अघि सारेका मान्यताहरू प्रकटहरूका श्रृंखलाको एक रूप मात्र हो ।

No comments: