Sunday, June 1, 2008

लीला लेखनः


नेपाली सामाजिक परिवेश अनुसार स्थापना भएको लोग्ने स्वास्नीको झगडा "परालको आगो" मान्यतालाई लीला लेखनमा इन्द्र बहादुर र्राईले नयाँ संभावित मान्यताहरू बनाएर कठपुतलीको मनमा देखाउनु भएको छ । परालको आगोको चामे र गौथली कठपुतलीमा आइपुग्दा पुरानो पात्रहरू स्थावत रहँदैनन्, उनीहरू अन्य संभावित उप कथा लिएर आइपुग्छन् । यी उप कथाहरूले बोकेको नयाँ मान्यता अहिलेको स्थापित मान्यता हो । परालको आगोले एउटा मात्र रूप धारण नगरी चक्रवर्ती रूप धारण गर्न सक्छ । त्यसैले लीला लेखन नयाँ धारणाहरूको लेखन पनि हो भनेर वहाँ आफै स्वीकार गर्नु हुन्छ । जीवन र जगत केवल एउटा लीला हो यदि चेतनाले मानिदिएको अवस्थामा । खेलहरू चेतना र संवेदनाको संजाल भित्रका सुन्दर उपज हुन् । लोग्नेस्वास्नी आफै द्वन्दका मूल स्रोतहरू हुन् । चाहे लोग्ने स्वास्नीको नाममा उभ्याइएको मान्यताहरू हुन्, बाँचौंको खेल । जहाँ लीला हुन्छ त्यहाँ भय हुन्छ । लीला भयवादको एउटा उम्दा प्रकट हो किनभने यसले भयलाई कम बनाउनमा ठूलो सहयोग गर्दछ । साँचो कुरा के हो भने सबै द्वन्दका आधारहरू भय हुन्छन्, खास गरी चेतनशील प्राणीहरूमा । त्यसैले लीला लेखनका सबै लीलाहरू भयवादको घेराभन्दा बाहिर छैनन्, यो सत्य हो । लीला लेखनका प्रधान कुराहरू भय उन्मुख छन् ।
कठपुतलीको मनमा परालको आगोका चार उप कथाहरू बनाइएका छन् । यी चारै कथामा द्वन्द छ । द्वन्दको कारण विभिन्न हुनसक्छन् । यो कुरा कथामा मात्र नभएर व्यवहारमा पनि हुने गर्दछ । कठपुतलीको मनको कथाका पात्रहरू आजको समाजको वास्तविक पात्रहरू पनि हुन् । यस्ता थुप्रै घटना घटिरहेका छन् समाजमा । हत्या र आत्महत्या सम्मका घटनाहरू घटेका छन् । हत्या, आत्महत्या, छोडपत्र आरोपप्रत्यारोपका घटनाहरू स्वरै कल्पनाको रूपमा त अवश्य हुँदैन । जीवनदेखि मरणसम्म मान्छेका प्रत्येक क्रियाकलाप सुक्ष्म रूपमा भयमय हुन्छ । यस कथाको अन्त्यमा पनि "बाँचौ भन्ने खेल खेलौ" भन्ने वाक्य आएको छ । के यो बाँचौ भन्ने खेल खेलौ भन्ने वाक्यको पछाडि भय बसिरहेको छैन - यसरी नै प्रत्येक घटनाको पछाडि भय छायाँ बनेर बसिरहेको हुन्छ नै । लीला मात्र हुनु, भ्रम मात्र हुनुले निर्जीवता प्रकट गर्दछ । लीला हुनु निर्जीव ढुङगा जस्तै हो । चटकेको चटक पनि एउटा लीला हो । लीलालाई मात्र मनन गर्ने हो भने त्यहाँ जीवन हुँदैन । जहाँ जीवन हुन्छ त्यहाँ निश्चिय पनि भय हुन्छ । जीवनलाई वेवास्ता गरेर सबै कुरा लीलाको भरमा पनि छोड्न सकिन्दैन ।
लीलाको अर्थमा ढुंगा, माटो, समुन्द्र यी प्रकृतिका वस्तुहरू लीला हुन् । एउटा कृष्णालाई एकै साथ सोह्रसय गोपिनीको साथमा देखिएको जस्तै एउटा ढुंगालाई धेरै मान्छेले विभिन्न रूपमा देख्न सक्छन् ।
ढुंगालाई विभिन्न रूपमा देख्ने भनेको विभिन्न मान्छेको चेतनाले गर्दछ । संसारबाट चेतना झिकिदिने हो भने ढुंगा हुनु र नहुनुको कुनै भेद रहँदैन । प्रश्न उठन सक्छ भय कहाँनेर छ ? समस्या, दुःख, कष्ट, लोभ, काम, क्रोध, माया, मोह, शंका, भ्रम, सम्पत्ति, आफन्त सबैमा भय हुन्छ । भाषा, लिपि, जाति, धर्मसँस्कृति लोप हुने सबैलाई भय हुन्छ । त्यसैले हुनु भन्ने शब्दमै भय विक्षिप्त रूपमा लुकेर बसेको हुन्छ । मान्छेमा भय भइन्जेल जीवन सक्रिय भइरहन्छ । मान्छेको सक्रियताले भयको प्रतिलोममा काम गरिरहेको भएतापनि अन्तोत्वगत्वा सहयोग भयलाई नै बढी हुन्छ । भयको लीलालाई शब्दहरूमा प्रकट गर्नुपर्दछ ।

No comments: