Sunday, June 1, 2008

विश्व साहित्यमा भयवादः


चित्र नं. १६ मा देखाइएका पश्चिमी साहित्य र पूर्वेली साहित्य उदाहरण मात्रै हुन् । साहित्यमा विचार खेलिरहेको हुन्छ । यस्ता धेरै साहित्य लेखिएका छन् । तथापि प्रमुख रूपमा लेखिएका साहित्य यिनै हुन् । यी साहित्य भन्दा पनि नयाँ साहित्यहरू उत्तर आधुनिक कालमा आइरहेका छन् । उत्तर आधुनिक कालका साहित्यले लेखकीय शैली फरक प्रस्तुत गरे पनि आधार स्तम्भ पुरानै साहित्यको लिइरहेको छ । यस कालमा नारी साहित्य, काला साहित्य, जनजातीय साहित्य हुर्किरहेको छ । वैचारिक र शैलीगत प्रयोगहरू पनि धमाधम नवीन आइरहेको छ । केन्द्र परिवर्तनका कुरा, केन्द्रहिनताको कुरा, शैलीगत परिवर्तनका कुराहरू धमाधम आउन थालेका छन् । विश्व साहित्यको कहिले नभरिने भण्डार भर्नमा यी साहित्यहरू निरन्तर कार्यरत छन् ।
एउटा महत्वपूर्ण कुरा जति पनि नयाँ अथवा पुरानो साहित्य छ, यी सबै साहित्यको छायाँ हुन्छ नै । अथवा बोध गरेको होस या नहोस भयवादीय साहित्य सबै साहित्यमा ढुक्कसँग बसिरहेको छ । भयवादीय साहित्य भएन भने यी तमाम साहित्यहरूको आधार ढल्न सक्छ चाहे त्यो पूर्वीय होस चाहे, पश्चिमेली । यिनीहरूको धरातल भयमा बसेको छ । साहित्यहरूमा भयवादीय साहित्य निरपेक्ष हुन्छ र अन्य साहित्यहरू भयवादीय साहित्यमा सापेक्षित हुन्छन् । तर भयवादीय दर्शन, साहित्य जीवनमै प्रधान हुँदाहुँदै पनि प्रकट रूपमा आइपुगेको छैन । चेतनामै भयवादीय दृष्टिकोण प्रकट भएको छैन भने दर्शन, साहित्यमा आउने कुरै भएन । भयवादलाई समालोचनाको आधारमा पनि कसैले बनाएनन्, किनभने यस विषयलाई दार्शनिक, आध्यात्मिक, भौतिक कुनै रूपमा कसैले परिभाषित नै नगरेपछि समालोचकीय आधार तयार हुने सवालै पैदा भएन र यो महत्वपूर्ण हुँदाहुँदै छोडिएर बस्नु प-यो । जगत जीवनमा सापेक्षित भएजस्तै साहित्य भयवादीय साहित्यमा सापेक्षित छ । समालोचना, कला, साहित्यमा भयवाद निश्चय पनि हुनुपर्दछ । यो सहजताको दृष्टिकोण हो । यसले जीवनलाई सरल बनाउनमा प्रेरित गर्दछ । जसरी साहित्यमा भयवादलाई नयाँ आयामबाट हेरिन्छ, त्यसरी नै कला, साहित्य, संगीतबाट पनि हेर्न सकिन्छ ।
विश्व साहित्यमा भयवाद भनेर छुट्टै यसैलाई प्रधान विषय बनाएर लेखिएको छैन । विश्वका दर्शन, विज्ञान, अध्यात्म र जीवनसँग नै विश्व साहित्य अगाडि बढिरहेको छ । अस्तित्वादी, आध्यात्मिक, मिथकीय, समाजवादी जस्ता तमामसाहित्यले भयलाई कुनै न कुनै रूपमा बोध गरेको भएपनि प्रमुख रूपमा आएको छैन । विश्वस्तरिय सबै साहित्य, धर्म, दर्शन जीवनको वरिपरि नै घुमेका छन् । आध्यात्मिक, भौतिक, अस्तित्ववादी साहित्य लेखिनु, जनजातीय साहित्य, महिला साहित्य, काला साहित्य, बीट जेनेरेसन, लगायतका साहित्यिक आन्दोलन नै पनि भयबाट अलग छैन । भयलाई विभिन्न रूपमा उठाइएको छ, तर मुख्य विषयको रूपमा उठाइएको छैन । कसैले यसलाई अस्तित्वको कुरा गरे, कसैले यसलाई धार्मिक कुरा गरे । धार्मिक र अस्तित्वका कुरा नै भयमा आधारित भएपछि यसमा आधारित साहित्य पनि भय साहित्य हुनुपर्दछ । यसको अर्थ सबै सिद्धान्त, दर्शन, विज्ञान जीवनको नजिक पुग्ने प्रतिस्पर्धामा उत्रेका छन् । सबैले जीवन नजिकको दाबी पनि गरिरहेका छन् । जीवन यी सबै भन्दा टाढा गएर बसेको छ र नै उत्सुकता र खोज चलिरहेको छ ।
तलको चित्र नं १७ मा विश्व साहित्यको उदाहरण राखिएको छ । विश्व साहित्यको धेरै भाग भयवादीय साहित्यले ओगटेको छ । होमरको इलियड देखि गेटेको फाउष्टसम्म र वेददेखि विभिन्न मिथकसम्म सबै झैंझगडा, लडाइ नै लडाइ छन् । लडाइको मूल कारण भय भन्दा पर हुन सक्दैन ।

No comments: